मोदी आउँदा पशुपति धर्मशालाको उद्धघाट्न हुन्छ: राजदुत पुरी

Sharing is caring!

साउन २९, २०७५ । नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा पशुपतिनाथ मन्दिर परिसरमा निर्माणधिन रहेको पशुपति धर्मशालाको उद्धघाट्न गर्ने बताएका छन् ।

भारतको ७२ औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै राजदुत पुरीले यही अगष्ट ३० र ३१ तारिख काठमाडौंमा हुने विमस्टेकको शिखर सम्मेलनमा भाग लिन आउँदा भारतीय प्रधानमन्त्री मोदीले पशुपति धर्मशालाको उद्धघाट्न गर्ने कार्यक्रम रहेको जानकारी दिए । उनले भने,‘हाम्रो प्रधानमन्त्री नेपाल आउँदा पशुपति धर्मशाला उद्धघाट्न गर्ने कार्यक्रम छ । यो खुशीको कुरा हो । तीर्थयात्रीहरुलाई बस्नको लागि अत्यन्तै सहज हुन्छ ।’

उहाँले भन्नुभयो, पर्यटनको विकास गर्न सकिए यसले आर्थिक समृद्धि हाँसिल गर्न सहयोग पुग्ने विश्वास दिलाए । उनले भने,‘नेपाल र भारतबीच सामाजिक, सांस्कृतिक, धार्मिक सबैखाले सम्बन्ध सदियौंदेखि रही आएको छ । अहिले पनि नेपाल भएर हजारौंको संख्यामा भारतीय पर्यटकहरुले मानसरोवरको तिर्थाटन गरिरहेका छन् । यसले आर्थिक विकासमा ठूलो टेवा पुर्याएको छ ।’

भारतीय प्रधानमन्त्री चौथो पटक नेपाल आउन लागेको सुनाउँदै उनले भने,‘यसले पनि देखाउँछ कि हाम्रो प्रधानमन्त्री मोदीको छिमेकी पहिले नीतिमा उहाँ प्रतिबद्ध हुनुहुन्छ । नेपालको जस्तोसुकै समस्यामा पनि भारतको हमेशा साथ र सहयोग रहन्छ । नेपाल भारतको सदैव उच्च प्राथमिकतामा छ।’

मोदीले आफ्नो कार्यकालमा चार पटक नेपाल भ्रमण गर्नु आँफैमा महत्वपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘नेपाल र भारतबीचको नाता विशेष छ । मोदी चौथो पटक नेपाल भ्रमणमा आउनुले नै हाम्रो सम्बन्ध बलियो र मजबुद छ भन्ने कुराको पुष्टि गर्छ । नेपाल र भारतबीचको द्धिपक्षीय सम्बन्ध अब उच्च राजनीतिक तहमा पनि केन्द्रित छ भन्ने कुरा प्रष्ट देखिन्छ ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अब आर्थिक रुपमा अझै मजबुद भएर अघि बढाउनुपर्ने उनको सुझाव छ । सुदृढ नेपाल र सुखी नेपाली बनाउने अभियानमा आफ्नो देशको सधैं साथ र सहयोग रहने उनको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *