मेलम्ची सपना : अहिलेकै गतिमा काम हुँदा अझै २ वर्ष लाग्ने

Sharing is caring!

जेठ २६, २०७५ । लक्ष्य भेट्ने अन्तिम बिन्दुमा पुग्न लागेपछि पटकपटक अवरोध भएका कारण आउँदो दसैंमा मेलम्चीको पानी काठमाडौं नजाने निश्चित प्रायः भएको छ । भूकम्पलगायत विभिन्न कारणले ढिला भएको र क्षतिपूर्तिवापत एक अर्ब ६५ करोड रुपैयाँ ठेकेदार कम्पनी (सीएमसी)ले दाबी गरेका कारण निर्धारित समयमा पानी काठमाडौं नपुग्ने देखिएको हो ।
खानेपानीमन्त्री बिना मगरले साइट अवलोकनका क्रममा काठमाडौंमा पानी झार्ने तालिका बनाएर काम गर्ने भनिए पनि ठेकेदार कम्पनीले आलटाल गर्दा थप अन्योल भएको हो । मन्त्रीको सपथ लिएलगत्तै कानुनमन्त्री शेरबहादुर तामाङसँगै खानेपानीमन्त्री मगर मेलम्ची आएर दसैंमा मेलम्चीलाई काठमाडौं पुरयाउने प्रतिबद्धता जनाएकी थिइन् ।
मेलम्चीमा अहिलेसम्म बाँध निर्माणकार्य सुरु नै भएको छैन । कुल २७ मध्ये करिब २१ किलोमिटर सुरुङ ढलान गर्ने काम बाँकी छ । साइटमा खटिएका इन्जिनियर उज्ज्वल प्रजापतिका अनुसार अहिले दैनिक औसत ३० मिटरमात्रै ढलानको काम भइरहेको छ । “यही गतिमा काम भए निर्धारित समयमा पानी काठमाडौं पुग्दैन,” उनले भने, “तर, तालिकाअनुरुप ठेकेदार कम्पनीले कामको गति बढाए सम्भव हुन पनि सक्छ ।” उनले निर्माण सामग्री अभावका कारण बेलाबेलामा काम रोकिने गरेको जानकारी दिए । अहिले भइरहेको कामको गति हेर्दा ढलानको काम सम्पन्न हुन मात्रै सात सयभन्दा बढी दिन लाग्ने देखिन्छ । सुरुङभित्र ‘फिनिसिङ’को काम सम्पन्न भए अस्थायी बाँध बनाएर पानी आपूर्ति गराउने योजना भए पनि यो असम्भव देखिएको हो ।
ठेकेदार कम्पनी सीएमसीले दाबी गरेको मध्ये आयोजनाले २८ करोड रुपैयाँ दिइसकेको छ । आयोजनाले चट्टान काट्ने कामका लागि सो रकम दिएको जनाएको छ । चट्टान काट्ने काम सुरुङद्वार आसपास भएको थियो । तर, सीएमसीले भने आफूले दाबी गरेको पूरै रकम पाएमात्र कामको गतिलाई तीव्रता दिने बताउँदै आएको छ । ठेकेदार कम्पनीबीच रकमको विषयलाई लिएर तनाव उत्पन्न भएपछि बैठक बोलाइएको आयोजनाले जनाएको छ ।
ठेकेदारले विभिन्न बहानामा साइटमा काम गर्नेसँग समन्वय नगरेकाले मेलम्चीको काम अघि नबढेको हो । सम्बन्धित ठेकेदार पक्षको सहमतिअनुसार अब टनेल इन्भर्ट लाइनिङ र फाइनल सपोर्ट, हेडवक्र्स र पानी पठाउने अन्य संरचना, टनेल मोनिटरिङ प्रणाली र तथ्यांक प्रणालीमा सूचना, एयर भेन्टिलेसन, भर्टिकल साफ्ट स्थापना र पानी डाइभर्सन गर्ने काम पनि बाँकी छ ।
२७ किमि लामो सुरुङको गत चैत २७ गते सिन्धु–ग्याल्थुम खण्डको साढे सात किमि ब्रेक थ्रु भएको थियो । गएको जेठ १६ गते मन्त्रालयका सचिवको नेतृत्वमा टोेली पुग्दा इन्जिनियरबाहेक कोही नभएपछि राष्ट्रिय गौरवको आयोजना मेलम्ची दूरवस्थामा पुगेको थाहा पाएका थिए । ठेकेदार कम्पनीले लापरबाही तरिकाले काम गरिरहेको पाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले बताए ।यो खबर आजको कारोबारमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *