मूल्यवृद्धि नियन्त्रण बाहिर : ४ खर्बको कृषिजन्य वस्तु आयात

Sharing is caring!

भदौ ६, २०८० । बजेटले लिएको लक्ष्यभन्दा माथि मूल्यवृद्धि पुगेको छ । आर्थिक वर्ष २०७९-८० को असार मसान्तसम्म मूल्य वृद्धि ७ दशमलव ७४ प्रतिशत पुगेको छ । जबकी बजेटले सात प्रतिशतको वाञ्छित सीमाभित्र मूल्य रहने प्रक्षेपण गरेको थियो । चालु आवको साउन मसान्तमा यो दर अझ धैरै माथि पुगिसकेको छ । मूल्यवृद्धि नियन्त्रण नहुनु, निजी क्षेत्रमा जाने कर्जाको वृद्धिदरमा कमी, आयात र निर्यात व्यापारको संकुचनले सरकारको राजस्व घटेको छ । यसले आन्तरिक अर्थतन्त्र शिथिल रहेको देखिएको छ । यस्तो अवस्थामा गत आर्थिक वर्षको असार मसान्तसम्म ३ खर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात भएको छ । गत आर्थिक वर्ष २०७९-८० मा १६ खर्ब ११ अर्ब ७३ करोड रुपैयाँको वस्तु आयात हुँदा २ खर्ब ९६ अर्ब ३० करोड ३१ लाख रुपैयाँको कृषिजन्य वस्तु आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष कुल आयात १९ खर्ब २० अर्ब ४४ करोड रुपैयाँ हुँदा ३ खर्ब ७८ अर्ब ६० करोड रुपैयाँको कृषिजन्य वस्तुआयात भएको थियो । अघिल्लो आवको भन्दा गत आवमा कृषिजन्य वस्तुको आयात ८२ अर्ब ५५ करोडले घटे पनि कृषिमा परनिर्भरता हट्न सकेको छैन् । कृषिजन्य बस्तुको आयात घट्दा पनि करिब चार खर्ब रुपैयाँको आयात हुनुले देशलाई कमजोर बनाउँदै लगेको विज्ञहरूले बताएका छन् । कृषि मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले क्रयशक्ति कम हुँदा कृषिजन्य वस्तुको उपभोग कम भएको हुन सक्ने बताएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षका कृषिजन्य वस्तु २ खर्ब ९६ अर्ब ३० करोडको रुपैयाँको आयात हुँदा चामल मात्रै ३६ अर्ब ३६ करोड रुपैयाँ आयात भएको छ । अघिल्लो आर्थिक वर्षमा चामल ४५ अर्ब ५७ करोड आयात भएको थियो । चामलको आयात कम हुनाको कारण भारतले केही समयका लागि चामलमा २० प्रतिशत कर लगाउँदा आयात कम भएको हुन सक्ने अनुमान गरिएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा मकैको आयात १७ अर्ब १७ करोड रुपैयाँको भएको छ । त्यस्तै गहुँ २८ करोड ९ लाख ८९ हजार रुपैयाँको आयात भएको छ । आलु १ करोड ३३ लाख ८० हजार रुपैयाँको, मेथी २५ करोड ४९ लाख ९२ हजार रुपैयाँ आयात भएको छ । गत आवमा पुशजन्य वस्तुको आयात ९० करोड ९७ लाखको भएको छ भने १ अर्ब ८५ करोड ४७ लाख रुपैयाँको दुग्धजन्य वस्तु आयात भएको छ । त्यस्तै माछा ४७ करोड ३८ लाख र कफि १६ करोड ९ लाख रुपैयाँको आयात भएको छ ।

त्यसैगरी हरियो तरकारी १० करोड ९४ लाख, फलपूmल ७ अर्ब ९ करोड ४४ लाख र २ अर्ब १५ करोड ८८ लाख रुपैयाँको ताजा अंगुर आयात भएको छ । विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार रुपैयाँ बराबरको केरा आयात भएको छ भने ८९ लाख रुपैयाँको अनार आयात भएको थियो । ८८ करोड १८ लाख ८४ हजार रुपैयाँको सुन्तला, ७० करोड २ लाख ७२ हजार रुपैयाँको आँप र ६८ करोड ९५ लाख ४० हजार रुपैयाँ बराबरको खरबुजा आयात भएको छ ।

चामलको मूल्य आकासियो

छिमेकी मुलुक भारतले बासमती बाहेकका चामल निकासीमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा चामलको मूल्य आकासिएको छ । नेपाल चामल, तेल, दाल उद्योग संघका अनुसार नेपालले कुल खपतको करिब २० प्रतिशत चामल भारतबाट आयात गर्ने गरेको थियो । संघका निवर्तमान अध्यक्ष सुवोधकुमार गुप्ताले धान आयातमा एक प्रतिशत मात्र भन्सार दर कायम गर्नुपर्ने तथा नेपालमा धान उत्पादन बढाउन सरकारको सहयोगमा व्यवसायी र किसान मिलेर त्रिपक्षीय रूपमा काम गर्न पहल गर्नसके चामलको आयात घटने बताएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा धानको वार्षिक माग ७० लाख टन रहेकामा गत आवमा ५५ लाख टन उत्पादन भएको थियो । अपुग धान भारतबाट आयात हुने गरेको छ । नेपाललाई आवश्यक चामल भारतबाट मात्र आयात भइरहेकोमा उसले निकासीमा प्रतिबन्ध लगाएसँगै अन्य मुलुकबाट पनि आयातको सम्भाव्यता अध्ययन भइरहेको छ । चालु आवमा अपेक्षित रोपाइँ हुन नसकेका कारण धान उत्पादन घट्ने आशंकाबीच भारतको प्रतिबन्धले आमउपभोक्ता मारमा पर्ने र यसले चामलको मूल्यवृद्धि हुन गई समग्रमा मुद्रास्फीति बढाउने आँकलन गरिएको छ ।

स्थानीय बजारमा २० देखि ३० किलोका बोरामा प्रतिबोरा चामलमा दुई सयदेखि तीन सय रुपैयाँसम्म मूल्य बढेको छ । मूल्यबढेपछि भारतले प्रतिबन्ध लगाउनुअघि मौज्दात रहेको चामलको मूल्य बढाए कानुनबमोजिम कारबाही गर्ने चेतावनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दिएको छ । विभागले व्यवसायीलाई पुरानो मूल्यमै चामल बिक्री गर्न पनि निर्देशन दिएको छ । अहिले तीन महिनालाई पुग्ने चामल व्यवसायीसँग मौज्दात रहेकोमा भारतले निर्यातमा प्रतिबन्ध लगाउँदैमा मूल्यमा फरक नपर्ने विभागका प्रवक्ता प्रवक्ता होमनाथ भट्टराईले बताएका छन् ।

भारतले चामलमा प्रतिबन्ध लगाए पनि धानमा नलगाएको र तीन महिनापछि धान उत्पादन भइसक्ने हुँदा खासै असर नपर्ने विभागको भनाइ छ । प्रतिबन्धको बहानामा मूल्य वृद्धि गरेको पाइए उपभोक्ता संरक्षण ऐनबमोजिम कारबाही गर्ने जिकिर विभागको छ । एसियाली मुलुकहरूमा यो वर्ष आवश्यकताभन्दा निकै कम पानी परेकाले चामल अभावका साथै मूल्य बढ्ने आँकलन पनि सकारकाले गरेको छ ।

नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष सुवोधकुमार गुप्ताले भारतमा धानको मूल्यवृद्धि हुँदा नेपाली बजारमा चामलको मूल्य बढेको बताए । भारतले चामलमा लगाएको प्रतिबन्धले तत्काल स्वदेशी बजारमा मूल्यवृद्धि नहुने उनको भनाइ छ । अध्यक्ष गुप्ताका अनुसार उद्योगबाट चामलको बोरामा जति मूल्य तोकिएको हुन्छ, सोही मूल्यमा उपभोक्ताले उपभोग गर्न पाउँछन् । अहिले तीन महिनालाई उपभोग गर्ने चामल मौज्दात रहेको उनको भनाइ छ । यो खबर सौर्य दैनिकबाट लिएक हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *