मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए सशक्त आन्दोलन गर्छौं: केसी

Sharing is caring!

जेठ ४, २०७६ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य अप्रजातान्त्रिक विद्येयक फिर्ता नलिए त्यसका विरुद्धमा सडक र सदन दुवैबाट आफ्नो पार्टीले कडा आन्दोलन तथा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले आफूहरु लोकतान्त्रिक आधारभुत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको जिकिर गरे । उनले भने,‘मिडिया काउन्सिलसम्बन्धी विद्येयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ । यो सरकार गठन भएको आज १५ महिना एक दिन भयो, अहिलेसम्मको अवस्था हेर्दा यो सरकारले नियन्त्रणमुखी प्रवृत्ति अपनाएको छ ।’

साक्षात्कारमा बोल्दै उनले सरकारले प्रेसमाथि गर्न खोजेको नियन्त्रणको कोशिस आफ्नो पार्टीलाई कुनैपनि हालतमा स्विकार्य नहुने बताए । उनले भने,‘विद्येयकमा यस्ता प्रावधान छन अरे, जसमा पत्रकारलाई १५ वर्षसम्मको कैद र एक करोडसम्मको जरिवाना राखिएको छ । हामी यो विद्येयकको विपक्षमा छौं ।’ केसीले आफूहरु अन्तिमसम्मपनि यो विद्येयकको विरुद्धमा सडक र सदनमा विपक्षमा उभिने जनाए ।

त्यस्तै, उनले सुरक्षा परिषदसम्बन्धीको विद्येयकको पनि आफूहरुले विरोध गरेको जनाए । मानव अधिकारसम्बन्धी विद्येयकमा पनि संवैधानिक अधिकार कटौती गर्न खोजिएको केसीको आरोप छ ।

वर्तमान सरकार दुई तिहाईको दम्भमा निरंकुशतातर्फ अघि बढिरहेको बताउँदै केसीले भने,‘शक्तिको आडमा मुलुकलाई निरंकुशतातर्फ धकेल्ने कुरा हामीलाई स्विकार्य छैन् । हामी यो सरकारको कामबाट गम्भिर रुपमा आशंकित छौं ।’ यद्धपी उनले सरकारको गतिविधिहरु आफूहरुले केही समय धैर्यताका साथ प्रतिक्षा गरेर हेरेकोले अब भने सह्य नहुने जिकिर गरे ।

नेता केसीले बजेट पनि कर्मकाण्डी भएको आरोप लगाउँदै अझैपनि यो सरकारले ४० प्रतिशत भुकम्पपीडितहरुको घर बनाउन नसकेको सुनाए । उनले भने,‘तर, यो सरकार पानीजहाज र रेलको कुरा गर्छ । जनताका आधारभूत कुरा सम्बोधन गर्नुपर्छ । सरकारले यतातर्फ ध्यान दिओस भन्ने म आग्रह गर्दछु।’

उनले वाईडबडी, ३३ केजी, बुढीगण्डकी, एनसेल, बालुवाटार, भृकुटीमण्डप, पशुपतिनाथलगायतका विभिन्न काण्डका बारेमा वर्तमान सरकारले गम्भिर रुपमा छानबिन गरि भ्रष्टाचार र अनियमिततामा संलग्नलाई आँट गरेर कारबाही गर्नुपर्ने माग गरे ।

उनले वर्तमान सरकारसँग हिम्मत र आँट भए भ्रष्टाचारीलाई जनतासामू नंग्याएर कारबाही गरि देखाउन चूनौति समेत दिए । उनले भने,‘यदि यो सरकारले कसैको पनि मुख नहेरी भ्रष्टाचारीलाई जनताकासामू उभ्याएर कारवाही गर्न सक्यो भने यसको जनप्रियता झनै बढ्छ ।’ तर, प्रधानमन्त्री केपी शर्मा ओलीले आँफैभित्रका भ्रष्टाचारीलाई कारवाही गर्ने हिम्मत नदेखाएको उनको आरोप छ ।

उनले वाईडबडीको भ्रष्टाचार काण्डमा सरकारले छानबिन समिति बनाउने नाममा अलमलाउने काम गरेको पनि आरोप लगाए । भ्रष्टाचारमा यदि प्रमुख प्रतिपक्षी दल र यसका नेताहरु पनि मुछिएको भए सरकारले उनीहरुलाई नंग्याएर जनतासामू ल्याईदिए भैगयो नि भन्ने उनले प्रश्नसमेत तेर्साए ।

मुलुकमा यदि यही अवस्था रहिरह्यो भने भ्रष्ट र धनाढ्यहरुको हातमा सबै पार्टीको राजनीति जानेपनि उनले खतरा औंल्याए । उनले भने,‘ यदि यस्तै अवस्था रह्यो भने वौद्धिक जगतले केही गरेर खान्छु भनेर नसोचेपनि हुन्छ ।’

केसीले बालुवाटार, पशुपति र भृकुटीमण्डप काण्ड अहिलेको वर्तमान सरकारले नगरेको पनि स्पष्ट पारे । उनले भने,‘तर, यी काण्डहरु कहाँबाट सुरु भएको हो ? यसमा छानबिन गरेर सरकारले कारबाही त गर्नुपर्यो नि ।’

सरकारले देशलाई अलोकतान्त्रिक गतिविधितर्फ धकेल्न खोजेको भन्दै आफूहरुलाई त्यो स्विकार्य नहुने पनि केसीको चेतावनी छ । उनले भने,‘अब हामी चुप लागेर बस्दैनौं ।’ वर्तमान प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुलाई आँफैले पालेर राखेको पनि उनको अर्को गम्भिर आरोप छ । भ्रष्टाचार र मिडिया काउन्सिलसम्बन्धी विद्येयकलगायतका अन्य संविधान विपरितका विद्येयकहरुको विरुद्धमा आफूहरुले यही जेठ ६ गते वा १० गतेबाट आन्दोलनका कार्यक्रम सञ्चालन गर्नेपनि उनले घोषणा गरे ।

प्रधानमन्त्रीले हालै एक कार्यक्रममा वर्तमान सरकारलाई जनसरकार भनेर सम्बोधन गरेको सुनाउँदै उनले उक्त अभिव्यक्तिलाई कम्युनिष्ट भाषाको संज्ञा दिए । उनले भने,‘यसले पनि यो सरकार जनवादी केन्द्रियतातर्फ जान लागेको संकेत गर्छ । तर, हामी लोकतान्त्रिक मुल्य र मान्यतामा कसैसँग सम्झौता गर्दैनौं ।’

मिडिया काउन्सिलसम्बन्धी विद्येयक, सुरक्षा परिषदसम्बन्धी विद्येयकलगायत ३÷४ वटा अप्रजातान्त्रिक विद्येयकका विरुद्धमा आन्दोलन गर्ने पनि केसीले दोहोर्याए । सरकारमा बसेकाहरुलाई अहिले निन्द्रामा बरबराउनेजस्तो रोग लागेको केसीको आरोप छ । कांग्रेसले सम्पूर्ण शक्ति प्रयोग गरेर आन्दोलन गर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *