मलेसियाका पूर्वप्रधानमन्त्री नजिब जमानतमा रिहा

Sharing is caring!

असार २०, २०७५ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक बुधबार जमानतमा रिहा हुनुभएको छ । उहाँलाई भ्रष्टाचारको आरोपमा मङ्गलबार पक्राउ गरिएको थियो ।

उहँलाई लागेको भ्रष्टाचारसम्बन्धी आरोपको अनुसन्धान गर्ने क्रममा मङ्गलबार यहाँको भ्रष्टाचार नियन्त्रण आयोगले सोधपुछका लागि पक्राउ गरिएको सम्बन्धित अधिकारीहरूले बताएका थिए ।

निवर्तमान प्रधानमन्त्री रजाकलाई सत्तामा रहँदा राज्यकोषको दुरूपयोग गरेको आरोप लागेको छ । ६४ वर्षीय रजाकविरुद्ध बुधबार सोही अभियोग दर्ता गरिने भएको छ ।

भ्रष्टाचार गरेको आरोपकै कारण गत मे महिनामा भएको संसदीय निर्वाचनमा उहाँको सत्तारुढ गठबन्धन पराजित भएको थियो । उहाँले गरेको भनिएको सो भ्रष्टाचारको विषयलाई विपक्षी दलहरुले एजेण्डा बनाएका थिए ।

सोही कारण उहाँको दलले निर्वाचन हारेको थियो भने ९२ वर्षीय महाथिर मोहम्मदको दलले स्पष्ट बहुमत हासिल गरेको थियो । मोहम्मद हाल प्रधानमन्त्री हुनुहुन्छ ।

निवर्तमान प्रधानमन्त्री रजाकका राजनीतिक गुरु र अभिभावकसमेत रहनु भएका मोहम्मद नेतृत्वको पार्टीले नै रजाकको दललाई पराजित गरिदिएको हो ।

हालसालै सत्ताबाट बाहिरिनुभएका रजाक करिब महिनादिन भित्रै भ्रष्टाचारको आरोप खेपिरहनुभएको छ ।

निर्वाचनमा पराजित भएपछि पूर्वप्रधानमन्त्री रज्जाकलाई देश बाहिर जान पनि प्रतिबन्ध लगाइएको थियो ।

सरकारी लगानीको एक कम्पनीमा उहाँको सरकारले गरेको आर्थिक कारोबार अपारदर्शी देखिएकोमा उहाँमाथि अनियमितताको प्रश्न उठाइएको छ ।

रजाकलाई पक्राउ गर्नुभन्दा केही दिनमात्र पहिले उहाँकी श्रीमती रोस्माह मन्सुर, छोरो रिज अजिज र उहाँका पूर्व सहयोगी जाहिद हमिदीलाई पनि अनुसन्धानको दायरामा ल्याइएको छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *