भौतिक क्षतिको विवरण संकलन गर्न मन्त्री ज्वालाको निर्देशन

Sharing is caring!

साउन २३, २०८० । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अविरल बर्षापछि भौतिक पूर्वाधारका क्षेत्रमा भएको क्षतिको विवरण तत्काल संकलन गर्न र पुर्ननिर्माण थाल्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सोमबारदेखि परेको भारी बर्षाले देशभर ठूलो मात्रामा भौतिक क्षति हुनुका साथै केही ठाउँमा मानवीय क्षति पनि भएको छ ।

मन्त्री ज्वालाले मकवानपुरको बागमती गाउँपालिका पाँचमा आज बिहान गएको पहिरोमा परी सन्तमाया स्याङतानको निधन भएकोमा दुख ब्यक्त गरेका छन् । उनले सडक, पुल र यातायातका क्षेत्रमा भएको विवरण तत्काल संकलन गर्न मातहतका निकायलाई निर्देशन दिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका प्रेस संयोजक जीवन विसीले जानकारी दिए ।

निरन्तरको बर्षाले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ भने केही स्थानमा पहिरो गएको छ । सडक भासिएपछि आवत–जावत पूर्णरुपमा बन्द भएको छ । बन्द भीमदत्त सडकको तत्काल पुर्ननिर्माणमा जुट्न र यातायात छिटो सञ्चालन गर्न सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाललाई मन्त्री ज्वालाले निर्देशन दिएको विसीले जानकारी दिए ।

उता,निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको उत्तरतर्फको मुल गेट नजिकै पहिरो जाँदा बुटवल पाल्पा सडक अबरुद्ध बनेको छ । नारायणगढ –मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोला लगायतका स्थानमा पहिरो खस्दा उक्त सडकखण्ड पनि बिहानैबाट खवरुद्ध बनेको छ । पहिरो पन्छाउने कार्य भैरहेको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी गराएको छ ।

देशका विभिन्न ठाउँमा गएको बाढी र पहिरोको कारण भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको हुनसक्ने भन्दै मन्त्री ज्वालाले क्षतिको विवरण संकलन गर्न र भासिएको भीमदत्त राजमार्ग तत्काल सञ्चालनमा ल्याउन मंगलबार निर्देशन दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *