पेट्रोलियम पदार्थ ल्याउने पाइप गाड्ने काम ५८ प्रतिशत सकियो

Sharing is caring!

कात्तिक १६, २०७५ । भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म भू–सतहभित्रबाटै पेट्रोलियम पदार्थ ल्याउन पाइप बिच्छ्याउने (गाड्ने) काम नेपालतर्फ ५८ दशमलव शून्य १ प्रतिशत सकिएको छ । दुवै देशको कागजी सम्झौतापछि सातवटा सर्भे पूरा भई सुरु भएको जमिनमुनि पाइप गाड्ने काम नेपालतर्फ ४१ दशमलव ९ प्रतिशत मात्र बाँकी रहेको छ । यो नेपालतर्फको भू–सतहभित्र पाइप गाड्ने काम कुल ३६ दशमलव २ किलोमिटरमा १५ दशमलव २ किलोमिटर मात्र बाँकी रहेको हो ।

बन्द हडतालमा पनि भारतबाट नेपालको अमलेखगन्जस्थित तेल भण्डारण केन्द्रसम्म सिधा पेट्रोलियम पदार्थ ल्याउन कुनै बाधा व्यवधान नहुने लक्ष्यसहित दुवै देशका सरकारबीच सम्झौता भई अहिले युद्धस्तरमा पाइप गाड्ने काम भइरहेको छ । अहिलेसम्म नेपालतर्फ २१ किलोमिटर पाइप गाड्ने काम सम्पन्न भइसकेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर (एक्सपर्ट) शरदप्रसाद पौडेलले राजधानीलाई बताए । माटोको भू­बनोटसमेत परीक्षण भएपश्चात् गत ६ वैशाखबाट नेपालतर्फ पाइप गाड्न थालिएको उनको भनाइ छ ।

गत मंसिरबाट लक्षित ठाउँ पहिचान गरी काम सुरु भएअनुसार १५ महिनाभित्र काम सम्पन्न गर्नुपर्ने समयसीमा छ । त्यसैअनुसार पाइप गाड्ने प्राविधिक र मेसिनसमेत भारतबाटै ल्याएर काम भइरहेको छ । भारतबाट २२ जना र नेपालबाट सहायकसमेत गरी कुल ३० जनाबाट निरन्तर काम भइरहेको छ । पाइप गाड्न पाइप जोड्ने (बेल्डिङ)को काम भने गत २३ फागुनबाटै सुरु भएको थियो ।

नेपालतर्फ सीमावर्ती क्षेत्र वीरगन्ज भन्सार हुँदै अमलेखगन्ज भण्डारण केन्द्रसम्म पु¥याउँदा नौ किलोमिटरमा पर्सा वन्यजन्तु आरक्ष जंगल क्षेत्र पर्ने भएकाले वातावरण प्रभाव मूल्यांकन ( ईआईए ) स्वीकृत भएकाले सो क्षेत्रका रूख काट्ने काम नेपाल सरकारबाट समयमै भए निर्धारित समय (आगामी मार्च)सम्ममा सबै काम सकिने मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालय सिमराले जनाएको छ ।

इन्डियन आयल कर्पोरेसनको पूर्ण सहयोगमा मोतीहारीबाट रक्सौल र रक्सौलबाट वीरगन्ज भन्सार नाका हुँदै बाराको अमलेखगन्जसम्ममा नेपालको भूभागमा जम्मा ३६ दशमलव २ किलोमिटर र भारततर्फ ३२ दशमलव ७ किलो मिटर पाइप गाडिसकेपछि पाइपमार्फत तेल ल्याउने प्रक्रिया अगाडि बढ्ने एक्सपर्ट पौडेलले राजधानीसँग भने । इन्डियन आयल निगमले मोतीहारीबाट भारतकै अर्को ठाउँका लागि मास्टर प्लान बनाउँदा नेपालले पनि अनुरोध गरेअनुसार नेपालतर्फ पनि पाइपमार्फत तेल दिन सहमत भएपछि यो काम सुरु भएको उनको भनाइ छ ।

पहिलो फेजमा डिजेल ल्याउने गरी १ हजार ४०८ वटा फलामे पाइप जमिनमुनि गाड्ने क्रम अहिले चलिरहेको फिल्डमा खटेका सञ्जय कुमारले बताए । यो पाइप ८ फिट ३ इन्च गहिराइसम्म गाडिन्छ । जमिनमुनि गाडिने पाइपको मार्गमा नदी, नाला र सडकमा समेत क्रसिङ गर्नुपर्ने ठाउँमा जमिनमुनि नै ड्रिल गरी पाइप जोड्ने काम पनि भइरहेको छ । जसअनुसार हालसम्म १२ ठाउँमा यस्तो चुनौतीपूर्ण काम सकिएको छ ।

त्यस्ता चुनौतीपूर्ण १० ठाउँ छन् । बाँकी वर्षाले सतहमा अहिले पनि पानी नसुकेको गण्डक परवानीपुरलगायत केही टुक्रे कामबाहेक जंगल क्षेत्रको नौ किलोमिटरमा मात्र नेपालतर्फ काम बाँकी रहेको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालय सिमराका मेकानिकल इन्जिनियर पौडेलको भनाइ छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न अमलेखगन्जको भण्डारस्थलका ठूला चारवटा ट्यांकीको रेडियोग्राफ, बटम टेस्टलगायत मर्मत कार्य भइसकेको उनको भनाइ छ ।
भारततर्फको ३२ दशमलव ७ किलोमिटर भू–सतहमा ६-७ किलोमिटर अब बाँकी रहेको छ । यो गतिले नेपालतर्फको वन क्षेत्रमा राज्यका तर्फबाट विलम्ब गरिदिए यताको काम निर्धारित समयमा सम्पन्न नहुन पनि सक्छ । भारततर्फ भने निर्धारित समयमा नै काम सकिने सूचना पाइएको मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन प्रोजेक्ट कार्यालय सिमराले जनाएको छ ।यो खबर राजधानीमा छापिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *