पाँच दिनमा नै पाँच पुरुषले दिए सम्बन्ध बिच्छेद मुद्दा

Sharing is caring!

भदौ ८, २०७५ । नयाँ मुलुकी ऐन लागू भएपछि बाँके जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि मुद्दा दायर गर्नेमा पुरुष मात्र रहेका छन् । ‘मुलुकी देवानी (संहिता) ऐन, २०७४’ लागू भएको पाँच दिनमा ३३ मुद्दा दर्ता भएकोमा पाँच वटा सम्बन्ध बिच्छेदका रहेको जिल्ला अदालतका निमित्त स्रेस्तेदार धनसिंह गिरीले बताए । ऐन लागू भएसँगै सम्बन्ध बिच्छेदका सबै मुद्दा पुरुषकाे तर्फबाट मात्र दायर भएको उनले बताए ।

पत्नीसँग सम्बन्ध बिच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोेकेको छ । सम्बन्ध बिच्छेदको लागि निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाई बुझाई मेलमिलाप गराउने प्रयास गर्ने स्रेस्तेदार गिरीले जानकारी दिए ।

‘मेलमिलाप गराउन अदालतले सम्झाउँदा बुझाउँदा पनि पति र पत्नीले मञ्जुर नगरेमा निवेदन परेको एक वर्षपछि अदालतले फैसला गर्छ,’ उनले भने । यसअघिको ऐनले महिलाले मात्र सम्बन्ध बिच्छेदका लागि अदालतमा मुद्दा दायर गर्ने व्यवस्था गरेको थियो ।

यसअघि पुरुषले सम्बन्ध बिच्छेदका लागि स्थानीय निकायमा निवेदन दिने व्यवस्था थियो । पतिलाई इच्छा लाग्दैमा र पत्नीले चाहँदैमा सम्बन्ध बिच्छेद नहुने कानुन व्यवसायी पदम पाण्डेले बताए । उनले सम्बन्ध बिच्छेदका लागि कानूनले निश्चित दायरा तोकेको उल्लेख गरे ।यो खबर आजको नयाँ पत्रिकामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *