थप दाइजो नपाए बिहे नै रद्ध गर्ने धम्की दिएपछि

Sharing is caring!

वैशाख २०, २०७५ । वैशाख २४ गते बिहे छ। बिहेका लागि बेहुली पक्षले छरछिमेक, आफन्त, नातागोता सबै तिर निम्तो पत्र पुगिसकेको छ। बेहुलीको घरमा बिहेको तयारी भइरहेको छ। बिहेको यस्तो तयारी भइरहँदा आइतबार बेहुलाका दाजुले थप दाइजो नदिए जन्ती लिएर बेहुलीको घरमै नआउने र बिहे नै रद्ध गर्ने धम्की दिएपछि बेहुली पक्ष तनावमा छ। न्यायका लागि बेहुलीसहित उनकी  आमा र दिदी प्रहरीको शरणमा पुगेका छन्।

पर्साको बहुदरामाई नगरपालिका ३ का रामसेवक (नाम परिवर्तन) की छोरी शुशीला (नाम परिवर्तन) को वीरगन्ज महानगरपालिको हरपतगन्जका मनोज महत्तोसँग यही २४ गते बिहे हुने मिति तय भएपछि गत चैत अन्तिम साता धुमधामका साथ छेका (टिकोटालो) समारोह भएको थियो।

बिहेका लागि बेहुली पक्षले बेहुला पक्षलाई दाइजोमा दिइने भनिएको मोटरसाइकल बापत एक लाख ८० हजार रुपैयाँ बुझाई सकेका छन्। दाइजोमा दिने थप ७० हजार रुपैयाँ भने बेहुली पक्षले बिहे अगाडि नै बेहुला पक्षलाई दिन बाँकी छ।  तर, बिहेको एक हप्ता अघि मात्र गत आइतबार बेहुला दाजु अशोकले बेहुलीको घरमै पुगेर थप दुई लाख ५० हजार रुपैयाँ दाइजो दिनु पर्ने सर्त राखेका हुन्।

बेहुलीका बुबाले थप दाइजो दिन असमर्थ रहेको जवाफ दिएपछि बेहु्लाका दाजु अशोकले थप दाइजो नपाए बिहे नै नगर्ने अडान लिएपछि बेहुली र उनका अभिभावक बुधबार जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दिन पुगेका हुन्।

बुधबार जिल्ला प्रहरी कार्यालयमा बेहुली शुशीलासँगै भेटिएकी उनकी आमाले भनिन्, ‘अहिले आएर केटाका दाइले थप अढाई लाख दाइजो नदिए भाइको बिहे नै गर्दिन भनेर धम्क्याएका छन्, यदि छोरीको साच्चै बिहे भएन भने समाजमा हामीले मुख देखाउन पनि सक्दैनाँै।’

बेहुला मनोज विहेका लागि राजी भए पनि उनका दाजु अशोकले मनोजलाई हेटौडामा लगेर लुकाएर राखेको बेहुलीकी दिदीको भनाइ छ। ‘केटा बिहे गर्न राजी छ’, उनले भनिन्, ‘तर, उस्को दाजुले बेहुलालाई हेटौंडामा लगेर राखेको छ।’

पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बेहुली पक्षले दिएको उजुरीका आधारमा आरोपित बेहुला र उनका दाजुलाई प्रहरी कार्यालयमा झिकाउनका लागि प्रहरीले बुधबारदेखि नै प्रक्रिया थालिसकेको बताए।

अशोकले आफनो भाइसँग बिहेको कुरा चलेकी केटीका पहिले नै अर्को केटासंग बिहे भइसकेर सम्बन्ध–विच्छेद भएको थाहा पाएपछि बिहे नगर्ने जवाफ बेहुली पक्षलाई दिएको बताए।

‘केटीको पहिला पनि बिहे भइसकेको रहेछ, पहिलो श्रीमान्ले छाडेपछि अहिले झुक्याएर मेरो भाइसँग बिहे गर्न खोजेका रहेछन्, यो सबै कुरा खुलेपछि हामीले बिहे हुन सक्दैन भनेर जवाफ दिएका हौँ’,  केटाका दाइले भने, ‘हामीले दाइजो लिएका छैनौ र थप दाइजो हामीले मागेका पनि छैनौँ।’

यता बेहुलीकी दिदीले भने कुरा छिन्ने बेलामा यो सबै विषयमा केटा पक्षलाई जानकारी गराएको र बताइन्। त्यत्तिबेला दुवै पक्षबीच सहमति भए पनि अहिले दाइजोको नाममा कुरा नमिलेको उनको भनाइ छ। यो खबर आजको अन्नपूर्ण पोस्टमा क्रान्ति शाहले लेखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *