जानकी मन्दिरको विद्युतीकरणमा एनआरएनएको साथ

Sharing is caring!

असार २६, २०७५ । विश्व सम्पदा सूचीमा सूचिकृत हुने तयारीमा रहेको जानकी मन्दिर अब पूर्ण विद्युतीकरणले सजिसजाऊ हुने भएको छ । धार्मिक पर्यटन क्षेत्रको केन्द्रविन्दुको रुपमा रहेको जानकी मन्दिरलाई सौन्दर्यीकरण गर्ने दृष्टिकोणले विद्युतीकरण मार्फत करिव ५ करोड रुपैयाँको लगानीमा सजावट गर्नका लागि जानकी मन्दिर र एनआरएनबीच १२ बुँदे सम्झौता भएको छ ।
जानकी मन्दिरको प्रांगणमा सोमवार आयोजित कार्यक्रममा जानकी मन्दिर छुठ गुठी र एनआरएनबीच मन्दिरको सौन्दर्यकरण गर्नको लागि सम्झौता पत्रमा गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्ट र जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्थ रामरोशन दास वैष्णवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।।
जानकी मन्दिरलाई विद्युतीकरणद्वारा सौन्दर्यीकरण योजनासम्बन्धी सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिर देशकै धरोहर रहेको र यसलाई सौन्दर्यीकरण गर्नको लागि एनआरएनएको कार्यको उच्च प्रशंसा गर्दै सराहनीय रहेको वताए । उनले प्रदेश नं २ लाई आकर्षणको केन्द्र बनाउनका लागि सौन्दर्यीकरणको कार्यबाट पर्यटन प्रवद्र्धनमा उल्लेख्य प्रभाव पार्ने र यस क्षेत्रलाई ध्यान दिनु आवश्यक रहेको बताउदै विश्वप्रसिद्ध जानकी मन्दिरको सौन्दर्यीकरणका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए । उनले यसका लागि जस्तोसुकै सहयोग गर्न तत्पर रहेको बताए ।
ऐतिहासिक, सांस्कृतिक र धार्मिक धरोहर रहेका र पर्यटकलाई प्रभावकारी ढंगले आकर्षित गर्नका लागि विद्युतीकरणबाट सुन्दर बनाउने प्रयास गरिएको एनआरएनका अध्यक्ष भवन भट्टले बताए । जानकी मन्दिर परिसरमा प्रकाश प्रज्जवलित गर्न एनआरएनले विस्तृत योजना तयार पारेको उनले जानकारी दिए । जानकी मन्दिरमा गरिने विद्युतीयकरण सोलार र विद्युत् दुवैबाट सञ्चालित हुने उनले प्रस्ट्याए ।
एनआरएनका संंस्थापक अध्यक्ष तथा उद्योगपति डा.उपेन्द्र महतोले जानकी मन्दिरलाई सजाउने अभिप्रायले गरिएको सम्झौताले जनकपुरधाम अझै सुन्दर बन्ने कुरामा विश्वस्त रहेको बताए । उनले संसकारले नै देशलाई चिनाउने भएकोले संसकारलाई संरक्षण गर्दै देशलाई अगाडी बढाउनु हाम्रो मुख्य चुनौती रहेको वताए । उद्योगपति महतोले देश वनाउने जिम्मा हामी माथि रहेको वताउदै देश कुनै विदेशीले आएर नबानाउने भएकोले आ आफनो ठाउबाट इमान्दारीताका साथ अगाडी बढन आग्रह गरे ।
सम्झौता अनुसार गैरअवासीय नेपाली संघद्वारा आफ्नै साधन र स्रोतबाट जानकी मन्दिर परिसर भित्र अत्याधुनिक विद्युतिय प्रकाश मार्फत मन्दिर परिसर प्रज्वलीत गरिने, मन्दिर परिसरमा प्रकास प्रज्वलीत गर्नका लागि संघले एक विस्तृत योजना तयारी गरि गुठीलाई प्रस्तुत गर्ने र परिसरको विद्युतीकरण गर्दा लाग्ने तार, उपकरण, बत्ति आदिको जडानका लागि लाग्ने सवै खर्च एनआरएनएले बेहोर्ने लगायतको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
जनकपुर उपमाहानगरपालिकाको प्रमुख लालकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा एनआरएनका सल्लाहकार रामेश्वर शाह, उपप्रमुख रिता झा, उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवसंकर साह हिरा, लगायतको उपःिथती रहेको थियो ।यो खबर आजको कारोबारबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *