जाडोमा ३० प्रतिशत बढी हृदयाघातको खतरा

Sharing is caring!

पुस ८, २०७६ । के तपाईंलाई चिसोको समयमा रक्तचाप (ब्लडप्रेसर) बढेको छ ? यदि छ भने समयमै चिकित्सकसँग जाँच गर्नुहोला । बेवास्ता गर्नुभयो भने ज्यानै पनि जान सक्छ ।

जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघातको सम्भावना रहने भन्दै चिकित्सकले सतर्कता अपनाउन सुझाव दिएका हुन् । चिसो भएपछि रगतको नली खुम्चँदै जाने र रक्तचाप बढ्ने भएकाले विशेष सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका हुन् ।

चिकित्सकका अनुसार रक्तचाप जति बढ्यो मुटुका धमनी पनि बिगँ्रदै जान्छ । मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्यले जाडो भएपछि चिल्लो र गुलियो बढी खाँदा सुगर र कोलेस्ट्रोल बढेर हृदयाघात हुने सम्भावना रहने बताए ।

उनले भने, ‘जाडोमा अन्य समयभन्दा ३० प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ । यस्तै, अन्य समयभन्दा २० प्रतिशत बढी पक्षघात रहने सम्भावना रहन्छ ।’
चिकित्सकहरूका अनुसार जाडोको समयमा घाम कम हुने भएकाले भिटामिन डीको कमी भई अन्य समयभन्दा ५ प्रतिशत बढी हृदयाघात हुने सम्भावना रहन्छ ।

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. हरिहर खनालले मानिसको जीवनशैलीका कारण ‘सडेन कार्डिएक डेथ’ हुने गरेको बताए । उनले भने, ‘जीवनशैली, तनाव, अल्छीपना, मोटोपनाका कारण हृदयाघात हुने सम्भावना बढी हुन्छ त्यसैले जीवनशैली परिवर्तन गर्न जरुरी छ । मुटुको समस्या देखिए तुरुन्त अस्पतालमा जानुपर्छ ।’

नेपालमा केही वर्षयता युवाहरूको ‘सडेन कार्डिएक डेथ’ हुने क्रम बढेको मुटुरोग विशेषज्ञ बताउँछन् । यो अलिक बढी चिसोे समयमा हुने गर्छ ।

कडा खालको हृदयाघात (मुटुको बृहत् क्षेत्रमा रक्तप्रवाह अवरोध), मुटुको चालमा गडबडी, मुटुको जन्मजात समस्या, मस्तिष्कको रक्तनलीमा रगतको थेग्ला जमेर मस्तिष्कघात हुँदा, मुटुको ठूलो धमनी फुट्दा, फोक्सोका ससाना नलीमा थेग्ला जम्दा, मुटुरोगीको मुटु फेल हुँदा आकस्मिक मृत्यु हुन सक्ने चिकित्सक बताउँछन् ।
चिसोमा मुटुको रक्त धमनी साँघुरिदा ब्लडप्रेसर बढ्ने डा. खनालले बताए ।

चिकित्सकका अनुसार चिसोबाट जोगिनु नै यसबाट बच्ने उत्तम उपाय हो । विदेशमा गरिएका केही अध्ययनले गर्मीभन्दा जाडोमा समग्रमा हर्टअट्याकको घटना ५० प्रतिशतले बढ्ने देखाएको छ । यस्तै, चिसोको समयमा गुलियो र बढी चिल्लो खाँदा सुगर, कोलेस्ट्रोल भई त्यसले हर्टअट्याकसमेत हुन सक्छ ।

केही दिनअघि अभिनेताद्वय केशव भट्टराई र दीपक क्षत्रीको हृदयाघातकै कारण ज्यान गएको थियो ।

जाडो मौसम सुरु भएसँगै मुटु रोगीको संख्या पनि बढ्न थालेको छ । चिसोले मुटु रोगीलाई स्वास्थ्यसम्बन्धी उच्च जोखिम निम्त्याउन सक्छ । चिसोले मुटु र रक्तसञ्चारलाई प्रभावित पार्छ । यो मौसममा शरीरलाई न्यानो राख्न मुटुले झन् बढी परिश्रम गर्नुपर्छ । यसैले गर्दा जाडोयाममा रक्तचापसँगै मुटुको चालसमेत बढ्छ । तापक्रममा कमी आउनासाथ हाम्रो शरीरको रगतको नली खुम्चिन्छ । अनि शरीरलाई न्यानो राख्न रगतको प्रवाह तीव्र हुन्छ ।

चिसोको समयमा ब्लडप्रेसर बढ्दा मस्तिष्कमा रगतको नली ब्लग भएर वा रगतको नली फुटेर पक्षघात हुन्छ । उमेर बढ्दै गए रगत खुम्चिने वा तन्किने शक्ति कम हुने भएकाले ब्लडप्रेसर बढ्नासाथ मस्तिष्कमा धमनीको नसा फुट्न गएर पक्षघात हुने सम्भावना बढी रहने चिकित्सक बताउँछन् । यो खबर राजधानी दैनिकबाट लिएका हौ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *