चीनले आफ्नो नक्सा तत्काल सच्याउन पूर्व सुरक्षाकर्मी परिषद्को आग्रह

Sharing is caring!

भदौ १५, २०८० । पूर्वसुरक्षाकर्मी परिषद् नेपालले चीनले जारी गरेको नक्सामा नेपालको भू–भागलाई भारतको देखाएको भन्दै आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले चीनले आफ्नोसहित छिमेकी राष्ट्रहरुको नक्सा जारी गर्दा नेपालको भू–भाग भारतको नक्सामा देखाउनुले गम्भीर आशंका र दरार उत्पन्न गराएको बताएको हो ।

चीनले भू–राजनीतिक नक्सा सार्वजनिक गर्ने क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्सालाई स्वीकार नगर्नु र उक्त भू–भाग भारततर्फ देखाउनु दुई देशबीचको मिलेमत्तोको आशंका उब्जिएको पूर्व सुरक्षाकर्मी परिषद्को ठहर छ । चीनसँग नेपालको सदियौदेखि छुट्टै र विशेष घनिष्ट सम्बन्ध रहँदैआएको बताउँदै परिषद्ले चीनले जारी गरेको उक्त नक्सा सच्याउन आह्वान गरेको छ ।

पूर्वसुरक्षाकर्मी परिषद् नेपालका अध्यक्ष कोमलबहादुर राउतले चीन र भारत दुई ठूला देशहरुले नेपाललाई सानो भनेर हेप्ने गरेको बताए । देशमा संकट आएको बेला पूर्व सुरक्षाकर्मी परिषद्ले निरन्तर आवाज उठाउँदै आएको उनले स्मरण गराए । उनले नेपाल र चीनबीचको सम्बन्ध एकदमै प्रगाढ रहेको चर्चा गर्दै उक्त नक्सा तत्काल सच्याउन पहल गरिनुपर्ने बताए ।

उनले भने, पूर्वसुरक्षाकर्मी परिषद् नेपाल राष्ट्र र राष्ट्रियताका निमित्त खबरदारी गर्न कञ्जुस्याँई गर्दैन । छिमेकी राष्ट्रहरुको बीचमा हामी सानो छौं । तर, बलियो छौं । हामीलाई सानो भनेर हेप्ने कुरा भइरहेका छन् ।
पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय सदस्य एवं प्रवक्ता हेमशंकर गिरीले नेपालले मित्र राष्ट्र चीनमाथि अत्यन्तै भरोसा गरेको बताए । नेपालमाथि अन्य राष्ट्रबाट आउनसक्ने खतराहरुमा सुरक्षा मित्र राष्ट्र चीनले गर्छ भन्ने अपेक्षा रहेकोमा नेपालको भू–भाग नै अर्को देशको नक्सामा विलय गराउनु आपत्तिजनक रहेको बताए ।

विदेशीलाई गाली गर्नुभन्दा पहिला २०७७ सालमा जारी चुच्चे नक्सा सबै छिमेकी देशको कूटनीतिक नियोगमा सरकारमार्फत पुग्यो वा पुगेन भनेर बुझ्न आवश्यक रहेको उनको भनाइ छ । कूटनीतिक नियोगमा उक्त चुच्चे नक्साबारे जानकारी नपुगेको भएमा स्वयम् राजनीतिक दल र नेताहरुले जिम्मेवारी लिनुपर्ने उनले बताए ।

उनले भने, विदेशीलाई गाली गर्नुभन्दा पहिला कमजोर कूटनीतिक र राजनीतिक दलहरुलाई गाली गर्नुपर्ने अवस्था छ । २०७७ सालमा चुच्चे नक्सा जारी भएपछि आफ्नो भू–राजनीतिक नक्सा जारी गरेको पत्र सम्बन्धित सबै कूटनीतिक निकाय जानकारी गराएको छ कि छैन ?त्यो पत्र आधिकारिक रुपमा चीनको राजदूतावास वा कूटनीतिक नियोगमा पुग्यो कि पुगेन ? होईन भने यिनै पार्टी र नेता निकम्म भएको ठहर हामी नेपाली जनताले गर्न आवश्यक छ ।

त्यस्तै पूर्वसुरक्षाकर्मी परिषद् नेपालका केन्द्रीय उपाध्यक्ष खगेन्द्र बस्नेतले गौतम बुद्धको शान्तिको देशमा आफूहरुले शान्तिपूर्वक बस्न चाहेको बताए । सरकार र राजनीतिक दलहरुले राष्ट्र र जनताको हितमा काम गर्न नसकेको उनको भनाई छ । उनले छिमेकी राष्ट्रहरुलाई छिमेकीको स्थानमा बस्न र सानो भनेर नहेप्नका चेतावनी दिए ।

सीमाविद् एवं पूर्वनापी महानिर्देशक बुद्धिनारायण श्रेष्ठले चीनले जारी गरेको नक्साका सन्दर्भमा नेपालले कूटनीतिक तहबाट सच्याउन लगाउन आवश्यक रहेको बताए । नेपाल सरकारले उक्त नक्सा सच्याउन लगाउने सामथ्र्यता नराखेमा सरकारको अकर्मण्यता पुष्टि हुने र नेपाली जनताले सधैं दुत्कारी रहने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *