चट्याङबाट बर्सेनि सयको मृत्यु, पूर्वानुमानको संयन्त्र छैन

Sharing is caring!

बैशाख ७, २०७६ । नेपालमा चट्याङबाट बर्सेनि सयभन्दा बढी मर्ने गरेको विपद् व्यवस्थापन महाशाखाको तथ्यांकले देखाउँछ । तर, चट्याङको पूर्वानुमान गरी क्षति न्यूनीकरण गर्ने विषयमा भने सरकारी निकायको ध्यान पुग्न सकेको छैन ।
गृह मन्त्रालयअन्तर्गत रहेको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका अनुसार गत वर्ष मात्रै १०५ जनाको चट्याङका कारण मृत्यु भयो । जसमा ५५ जना पुरुष र ५० जना महिला थिए ।

२८४ जना घाइते भएका थिए । चट्याङ चैत वैशाख र जेठमा पर्ने भएकाले यो समयमा मानिसले सावधानी अपनाउने हो भने चट्याङबाट हुने मानवीय क्षति न्यूनीकरण गर्न सकिने सरोकारवाला बताउँछन् ।
चट्याङबाट बर्सेनि सयभन्दा बढी मानिस मर्ने र ३ सयको हाराहारीमा घाइते हुन्छन् तर यसको रोकथामबारे सरकारी निकायको कुनै ध्यान पुग्न नसकेको हो । चट्याङबाट हुने क्षति न्यूनीकरण गर्ने मुख्य जिम्मेवारीमा रहेको गृह मन्त्रालयले यस विषयलाई उच्च प्राथमिकतामा राख्न नसकेको चट्याङ विशेषज्ञ डाक्टर श्रीराम शर्मा बताउँछन् ।

‘हामीले लामो समयदेखि नेपालमा बढी मात्रामा चट्याङ पर्नुको कारण खोजी गरिरहेका छौं, अनुसन्धान भइरहेको छ,’ शर्माले भने, ‘त्यसबाहेक सरकारी निकायसँग समन्वय गरेर पनि काम गरिरहेका छौं तर गृह मन्त्रालयले भने यस विषयमा खासै ध्यान दिएको छैन ।’ चट्याङबाट हुने क्षति कम गर्न मौसम पूर्वानुमान संयन्त्र भएजस्तै चट्याङ पूर्वानुमान संयन्त्र बनाउन सकिने उनको धारणा छ । ‘विश्वका अन्य देशहरूमा चट्याङबाट हुने क्षति न्यूनीकरणका लागि सरकार तथा सम्बन्धित निकायले चट्याङ पूर्वानुमानका संयन्त्र स्थापना गरी त्यसबाट पूर्वानुमान लगाइहेका हुन्छन् र त्यो ९० प्रतिशतसम्म सही हुन जान्छ, त्यस्तो अवस्थामा सर्वसाधारण सतर्क हुन्छन् तर नेपालमा त्यस्तो मेसिन भित्रिन सकेको छैन’ उनले भने, ‘नेपालमा चट्याङ पूर्वानुमान यन्त्र अत्यावश्यकजस्तै भइसकेको छ ।’

‘चट्याङ भनेको प्राकृतिक कुरा हो कतिबेला पर्छ भन्न सकिँदैन, त्यसैले अब घरघरमा चट्याङबाट बच्ने संयन्त्र जडान गर्ने योजनामा हामी छौं,’ गृह सचिव प्रेमकुमार राईले भने, ‘अहिले बनिरहेको नयाँ घरमा त भई नै हाल्छन्, पुरानामा पनि त्यस्ता संयन्त्र राख्ने तयारीमा छौं, कार्ययोजना बन्दै छ ।’
सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन नसके पनि केही प्रयास भने भइरहेको जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्य बताउँछन् । ‘चट्याङ विशेषज्ञले भनेजस्तो पूर्वानुमानका यन्त्र हामीले ल्याउन सकेका छैनौं, अन्य विपद्जस्तो यसका लागि भनेर विशेष काम गरिएको छैन,’ उनले भने, ‘तर सरकारले केही पनि गर्दै नगरेको भने होइन, विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम गरिरहेको छ, अन्य कार्ययोजना पनि बनिरहेका छन् ।

प्राकृतिक रूपमा हुने यस्ता घटनाबाट बच्न प्रत्येक घरमा अर्थिङलगायत चट्याङबाट बच्ने यन्त्र जडान गरिनुपर्ने उनको धारणा छ ।  सरकारले बाढी, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपलाई मात्र ध्यान दिँदा झट्ट हेर्दा सानै देखिए पनि खतरनाक चट्याङको विषयमा केही नगर्ने हो भने बर्सेनि सयौं मानिसको अकालमा ज्यान गुम्ने अवस्था रहिरहने पीडित परिवारको गुनासो छ ।यो खबर राजधानीबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *