घरमा उत्पादित सौर्य ऊर्जा बेच्न सकिने

Sharing is caring!

पुस ६, २०७६ । आवासीय घरमा उत्पादन भएको सौर्य ऊर्जालाई बिक्री गर्न चाहनुहुन्छ ? त्यसो भए नेपाल विद्युत् प्राधिकरणमा सम्पर्क गर्न ढिला नगर्नुहोस् । नेपाल विद्युत् प्राधिकरणबाट विद्युत् लाइन जडान गरेका घरधनीले मात्र सौर्य ऊर्जा बिक्री गर्न सक्नेछन् ।

घरमा उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणले प्रतियुनिट सात रुपियाँ ३० पैसामा खरिद गर्नेछ । घाम लागेका बखत घरको छानामा उत्पादित सौर्य ऊर्जालाई प्राधिकरणको तार हुँदै विद्युत् वितरण प्रणालीमा जोड्न सकिन्छ ।

व्यक्तिले महिनाभरि प्राधिकरणको विद्युत् खपत गरेको र निजले प्राधिकरणलाई बिक्री गरेको विद्युतीय ऊर्जाको हिसाब गर्दा खपत गरेकोभन्दा बढी ऊर्जा बिक्री गरिएको पाइएमा त्यसबापतको रकमसमेत प्राधिकरणबाट प्राप्त हुनसक्छ ।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले बढी भएको बिजुली व्यक्तिले आफूहरूलाई बिक्री गर्नसक्ने बताउँदै भन्नुभयो, “प्राधिकरणका जुनसुकै शाखाबाट पनि यस्तो सुविधा लिन सकिन्छ । प्राधिकरणको विद्युत् खपतभन्दा व्यक्तिको घरबाट उत्पादन भएको ऊर्जा बढी भएमा हिसाब गरेर रकम पनि दिन्छौँ ।”

आवासीय भवनबाट उत्पादन भएको सौर्य ऊर्जालाई प्राधिकरणको ग्रिडमा पठाउन मिल्ने प्रावधान उल्लेख भएको कार्यविधि दुई वर्षअघि नै स्वीकृत भएको थियो । सो कार्यविधिअनुरूप विभिन्न निकाय र उद्योगले यस्तो सेवा उपयोग गर्न थालिसकेका छन् । व्यक्तिहरूलाई पर्याप्त जानकारी नहुँदा आवासीय भवनमा यस्तो सुविधाको थालनी हुन सकेको छैन ।

व्यक्तिले सौर्य ऊर्जा बिक्री गर्न चाहेमा उपकरण (सोलार प्यानल) आफैँले जडान गर्नुपर्ने हुन्छ । आवासीय घरमा पाँच सय वाटदेखि पाँच किलोवाटसम्म ऊर्जा उत्पादन गर्न सकिन्छ । एक किलोवाटसम्मको ऊर्जा उत्पादन गर्नका निम्ति सोलार प्यानल राख्दा औसतमा एक लाख ७५ हजार रुपियाँसम्म खर्च लाग्दछ ।

एकपटक जडान गरेको उपकरणको आयु सरदर २० वर्ष रहन्छ र एक किलोवाटको उपकरण जडान गर्दा २० वर्षमा करिब २८ हजार आठ सय युनिट सौर्य ऊर्जा उत्पादन हुनसक्छ । प्राधिकरणले हाल प्रतियुनिट सरदर १० रुपियाँका दरले ग्राहकलाई विद्युत् बिक्री गर्दै आएको छ र सोअनुरूप २० वर्षे अवधिमा व्यक्तिले सरदर दुई लाख ८८ हजार रुपियाँको बिजुली खपत गर्ने गरेको हिसाब निकाल्न सकिन्छ ।

यस्तो सुविधा लिन ‘बाइ डिरेक्सनल मिटर’ (नेट मिटरिङ) आवश्यक पर्दछ र यो बजारमा सहज रूपमा उपलब्ध छ । प्राधिकरणका प्रवक्ता अधिकारीले एउटै इलेक्ट्रोनिक्स मिटरमा विद्युतीय ऊर्जा लिने र दिने खपत युनिट ‘रिड’ गर्नसक्ने बताउँदै भन्नुभयो, “यो सेवा लिन जति सहज छ, त्योभन्दा बढी सुरक्षाका उपाय अपनाउन कठिन हुनसक्छ । सुरक्षाको विषय महìवपूर्ण हुन्छ । दुर्घटना नहोस् भन्नेमा निकै सजग हुनुपर्दछ ।”

उपत्यकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल इन्जिनियरिङ एसोसिएसन, इसिमोडलगायत निकायका साथै उपत्यका बाहिरका कागज मिल लगायतले यसैगरी विद्युत् ऊर्जा उत्पादन गरेर बिक्री गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको ऊर्जा अध्ययन केन्द्र र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले काठमाडौँ, पोखरा र विराटनगरमा सौर्य ऊर्जा उत्पादनका बारेमा अध्ययन गरेका थिए । काठमाडौँमा २०२ घर तथा पोखरा र विराटनगरमा ४२÷४२ वटा घरलाई नमुनाका रूपमा लिइएको थियो ।

सो अध्ययनले काठमाडौँमा १५, विराटनगरमा १९ र पोखराका घरका छानामा १२ वर्गमिटरमा सोलार प्यानल जडान गर्न उपयुक्त रहेको देखाएको छ । एक किलोवाटसम्म ऊर्जा उत्पादन गर्ने प्यानल राख्ने हो भने काठमाडौँका ८५, विराटनगरका शतप्रतिशत र पोखराका ७० प्रतिशत घरमा सोलार प्यानल जडान गर्न सकिने सोही अध्ययनले देखाएको थियो ।

सो अध्ययनमा संलग्न रहनुभएका ऊर्जा अध्ययन केन्द्रका प्राध्यापक डा. जगन्नाथ श्रेष्ठले एक किलोवाट क्षमताको उपकरण जडान गरिएमा काठमाडौँका घरहरूबाट प्रतिदिन एक हजार ८६१ मेगावाट आवर, पोखराका घरहरूबाट प्रतिदिन २२९ मेगावाट आवर र विराटनगरका घरहरूबाट प्रतिदिन १२९ मेगावाट आवर ऊर्जा उत्पादन हुने दाबी गर्नुभयो ।

“एकपटक सोलार प्यानल खरिद गर्दा रकम खर्च हुन्छ । त्यो रकम सौर्य ऊर्जा प्राधिकरणलाई बिक्री गर्दा सहजै उठ्छ । व्यक्ति घाटामा जाँदैन,” उहाँले भन्नुभयो, “यसरी प्राधिकरणलाई ऊर्जा बिक्री गर्दा उपभोक्ताले हाल तिरिरहेकोभन्दा सरदर आधा महसुल तिरे पुग्छ । बढी ऊर्जा उत्पादन गर्न सके उल्टै रकम आर्जन पनि हुनसक्छ ।” उपकरण सम्पूर्णको व्यवस्था भएमा बढीमा तीन घण्टामा जडान गर्न सकिन्छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले बिजुलीबत्ती नपुगेका ठाउँका घरमा सौर्य ऊर्जा जडानका लागि १० हजार रुपियाँ अनुदान दिने गरेको छ भने प्राधिकरणलाई सौर्य ऊर्जा बिक्री गर्ने उद्देश्य राखेका संस्था वा उद्योगलाई सोलार प्यानल खरिद गर्दा बैङ्कबाट लिएको ऋणको ब्याजमा ५० प्रतिशत अनुदान दिँदै आएको छ ।

केन्द्रका निर्देशक नवराज ढकालले संस्था वा उद्योगलाई यस्तो अनुदान दिने गरेका छौँ भन्दै थप्नुभयो, “आवासीय घरलाई यस्तो अनुदान दिने कार्यक्रम छैन । बरु संस्था वा उद्योगले यसका लागि ऋण चाहेमा बैङ्कहरूसँग सम्पर्क गराइदिने गरेका छौँ ।” सन् १८८२ मा अमेरिकाको न्युयोर्कमा पहिलोपटक बिजुलीबत्ती बलेको थियो । त्यसको २९ वर्षपछि सन् १९११ मा काठमाडौँको फर्पिङमा बत्ती बालिएको थियो ।

पाँच सय किलोवाट क्षमताको फर्पिङको विद्युत् आयोजना निर्माण गर्दा त्यसबेला सात लाख १३ हजार रुपियाँ खर्च लागेको थियो । आवासीय भवनले उत्पादन गर्ने सौर्य ऊर्जा विद्युत् उत्पादन संस्थालाई बिक्री गर्ने कार्यको थालनी अमेरिकामा सन् १९८५ बाट सुरु भएको हो । अहिले अमेरिकाको म्यासाचुसेट, कोलोराडो, क्यालिफोर्निया आदि स्थानमा यो निकै लोकप्रिय छ । यो खबर गोरखापत्रबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *