केबलकार कम्पनी लाइसेन्समै सीमित: २४ कम्पनीलाई अनुमति, ३ ठाउँमा मात्र सञ्चालन

Sharing is caring!

जेठ २९, २०७६ । देशभर २४ ओटा कम्पनीले केबलकार सञ्चालनको अनुमति पाए पनि तीन स्थानमा मात्र सञ्चालन हुँदै आएको छ । बाँकी २१ स्थानमा भने अझै केबलकार सञ्चालन भएका छैनन् । यसबाट केबलकार सञ्चालन गर्न इच्छुक कम्पनीहरू अनुमतिपत्र लिनमै सीमित देखिएका छन् । हाल दोलखा, गोरखा र काठमाडौंमा मात्र केबलकार सञ्चालनमा छन् ।

गोरखामा मनकामना दर्शन, काठमाडौंमा चन्द्रागिरि हिल्स र दोलखामा कालिञ्चोक दर्शन केबलकार सञ्चालनमा छन् । यस्तै, नवलपरासीको गैंडाकोटमा मौलाकाली केबलकार, ताप्लेजुङको फावाखोलामा पाथीभरादेवी दर्शन, कास्कीको सराङकोटमा अन्नपूर्ण र ललितपुरको बागमती गाउँपालिकामा ‘डेस्टिनेशन माझखण्ड’ केबलकार निर्माणाधीन छन् । त्यसबाहेकका कम्पनीले केबलकार निर्माण शुरू नगरेको उद्योग विभागले जानकारी दिएको छ । अनुमति लिएका १७ ओटा कम्पनी त विभागको सम्पर्कमै छैनन् ।

निर्माणाधीनमध्ये ‘डेस्टिनेशन माझखण्ड’को अनुमानित लागत रू. ६८ करोड छ । यस्तै, अन्नपूर्ण केबलकारको रू. ६० करोड, मौलाकालीको रू. २४ करोड र पाथीभरादेवी दर्शनको रू. ८८ करोड ४८ लाख लागत अनुमान गरिएको छ ।

२४ ओटा कम्पनीले १२ जिल्लामा केबलकार सञ्चालनको अनुमति पाएका छन् । तीमध्ये सबैभन्दा धेरै काठमाडौंका चार स्थानमा केबलकार सञ्चालन गर्ने अनुमति विभागले दिएको छ । कास्की र चितवनमा ३/३ तथा गोरखामा दुई कम्पनीले सञ्चालनको अनुमति पाएका छन् ।

विभागका महानिर्देशक विनोदप्रकाश सिंहका अनुसार २/३ वर्षमा निर्माण सम्पन्न गर्नेगरी कम्पनीहरूले अनुमति लिएका छन् । समयमै काम नसक्ने कम्पनीहरूको म्याद थप नगरिने उनले बताए । यो खबर आर्थिक अभियानबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *