कांग्रेसले सरकारविरोधी र पार्टी अभियान एकसाथ चलाउने

Sharing is caring!

पुस १६, २०७५ । कांग्रेसले एकसाथ सरकारविरोधी र पार्टी अभियान सञ्चालन गर्ने भएको छ । माघ लागेपछि सदस्यता वितरण, प्रशिक्षणसहित सरकारविरोधी अभियान सुरु गर्ने कांग्रेसको तयारी छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आन्तरिक रूपमा कार्यतालिका बनाएर माघमा पार्टीले अभियान सुरु गर्ने जानकारी दिए । साथै, सुरुको अभियानमा पार्टीका संरचनालाई व्यवस्थित गर्नेदेखि सरकार संस्थागत रूपमा भ्रष्टाचारमा लागेको भन्दै यसविरुद्ध नागरिक तहमा जाने तयारी पनि कांग्रेसको छ ।

‘हामीले महासमिति बैठकबाट समसामयिक प्रस्ताव पारित गर्दै सरकार संस्थागत भ्रष्टाचारमा लागेकोसहितका १५ बुँदा पास गरेका छौँ । अब संसद् र पार्टी संरचनामा सरकारका यी गलत काम र कमजोरीविरुद्ध प्रभावशाली ढंगले आवाज उठाउँछौँ,’ महतले नयाँ पत्रिकासँग भने, ‘यो अभियानसँगै पार्टी संरचनाका काम पनि अब माघ लागेपछि अघि बढ्छन् ।’ राष्ट्रिय र जनसरोकारका मुद्दा, संवैधानिक व्यवस्था र कानुनी व्यवस्थाका प्रावधान पालन गर्न उठाइएका विषयलाई उपेक्षा गर्दै सरकार अधिनायकवादी बाटोमा अग्रसर भएको निष्कर्ष हालै सम्पन्न कांग्रेस महासमिति बैठकले निकालेको थियो । यो खबर नयाँ पत्रिकाबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *