कांग्रेसले नेतृत्व गर्छु भन्नेवित्तिकै सरकार ढल्छः एमाले नेता ढुंगेल

Sharing is caring!

असार ९, २०८० । नेकपा (एमाले) का युवा नेता माधव ढुंगेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु कांग्रेस सभापति शेरबहादुर देउवाभित्र सत्ताको आकांक्षा नपलाउँदासम्म मात्रै भएको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले कांग्रेसभित्र नेतृत्वको आकांक्षा पलाएको र अब यो सरकार ढल्ने संकेत गरे ।

‘जबसम्म शेरबहादुर देउवामा प्रधानमन्त्री हुने आकांक्षा पलाउँदैन त्यतिबेलासम्म यो सरकार कायम रहन्छ । आज पनि त्यही हो । कांग्रेसभित्र सरकारको नेतृत्वको आकांक्षा जन्मनेवित्तिकै यो सरकार धरापमा पर्छ भनेर हामीले हिजो नै भनेका थियो । आज त्यही ठाउँमा परिस्थिति आइपुगेको छ । कांग्रेसले नेतृत्व गर्छु भन्नेवित्तिकै सरकार ढलिहाल्छ नि । यो सरकार कांग्रेसको आकांक्षामा भर पर्छ,’– उनले भने ।

प्रचण्डलाई प्रधानमन्त्री बनाउनका लागि एमालेले खेलेको भूमिका प्रतिउत्पादक बनेको उनको टिप्पणी छ । नेता ढुंगेलले एमाले यो सरकार ढाल्ने र गिराउने खेलमा नरहेपनि वर्तमान सरकार आफैं ढल्ने अवस्थामा रहेको बताए ।

यो सकारबाट समृद्धि सम्भव नभएको उनको भनाई छ । यस्तो गठबन्धनबानट परीणाम खोज्नु आफैंमा मुर्खता भएको उनको भनाई छ । प्रचण्डले भारत भ्रमणका क्रममा चालेको विभिन्न कदमले नेपालीहरुको शिर निहु¥याएको उनको आरोप छ ।

उनले नेपालको भूमिलाई भारतको नक्सामा कैद गर्दा पनि भारतसँग कुरा गर्न नसक्ने प्रधानमन्त्रीले देशको रक्षा गर्न नसक्ने बताए । ‘अहिलेको सरकार यो नेपालको भूमि हो भन्न सक्दैन । यो नेपालको अस्मितामाथिको आक्रमण हो भन्न सक्दैन । त्यस्तो सरकारबाट हामीले अपेक्षा के पूरा गर्न सक्छौं ?’– उनले प्रश्न गरे ।

सत्ता गठबन्धनको रुपान्तरण र परिवर्तनको आवश्यकता भएको उनको दाबी छ । अहिले सत्ताको लडाईमा सिंगो देशलाई होम्नपर्ने अवस्था आएको उनले बताए । विदेश जाने नेपाली युवाहरुको डाटा कहाली लाग्दो रहेको उनले बताए । अहिले राज्यमा भएको विविध समस्या समाधानका लागि अहिलेको राजनीतिक समीकरणलाई नयाँ शिराबाट अगाडि बढाउन पर्ने आवश्यकता आफूहरुले गरेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *