आजबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु

Sharing is caring!

माघ १३, २०८० । नेपाली कांग्रेसले ‘समुदायमा कांग्रेस’ अभियान आजबाट सञ्चालन गर्ने भएको छ । अभियान झन्डै दुई सातासम्म सञ्चालन गर्ने तयारी कांग्रेसको छ । शनिबारदेखि माघ २६ गतेसम्म सो अभियान सञ्चालन हुँदै छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले अभियानका क्रममा समुदायस्तरमा प्रत्यक्ष गई स्थानीय तहबाट हुने सेवा प्रवाह, विकास निर्माणको अवलोकन गरी आमनागरिकका गुनासा र सुझावलाई वडास्तरबाटै कार्यान्वयन गराउन पहलकदमी लिने जानकारी गराए ।

अभियानका लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्लास्तरमा खटाएको छ । केन्द्रीय प्रतिनिधिको समन्वयमा पार्टीका जिल्ला कार्यसमितिबाट माघ १५ गतेसम्ममा सबै (६७४३) वटा वडामा प्रतिनिधि खटाइने तय भइसकेको पौडेलले जानकारी दिए ।

अभियान मूलतः वडा केन्द्रित रहने छ । माघ १६ गते सहिद दिवसका दिन विशेष कार्यक्रमसहित अभियानको पहिलो चरण प्रारम्भ हुने कांग्रेसले जनाएको छ । वडा तथा जिल्लास्तरमा खटिएका केन्द्रीय प्रतिनिधिबाहेक पार्टीका केन्द्रदेखि वडा तहसम्म पदाधिकारीका साथै सदस्यहरु परिचालित हुनेछन् । साथै विभिन्न भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थामा आबद्ध केन्द्रदेखि स्थानीय तहसम्मका प्रतिनिधिलाई समेत कांग्रेसले अभियानमा एकसाथ परिचालन गर्ने जनाएको छ ।

आजबाट सुरु हुने अभियानको माघ २६ गते सुशील कोइरालाको स्मृति दिवसका दिन पारेर समापन गर्ने कांग्रेसले तय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *