अब योगदानमा आधारित पेन्सन

Sharing is caring!

मंसिर २०, २०७५ । सरकारले अब नियुक्त हुने कर्मचारीका लागि योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका अनुसार सरकारले त्यसका लागि अन्तिम तयारी थालेको छ । यो प्रणाली लागूपछि कर्मचारीले जागीर खाँदा कटाएर राखेको कोषबाट पेन्सन पाउनेछन् । ‘हामी योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्दै छौं, यो लागू गरेपछि सरकारले विकास बजेट काटेर कर्मचारीलाई पेन्सन दिनुपर्ने युगको अन्त्य हुन्छ,’ मन्त्री डा. खतिवडाले भने ।

अहिले सरकारले अवकाशप्राप्त कर्मचारीलाई वार्षिक ५३ अर्ब रुपैयाँ पेन्सन दिँदै आएको छ । यो रकम हरेक वर्ष बढ्दो छ । राज्यलाई ‘पेन्सनको टेन्सन’ नहोस् भनेर नयाँ मोडालिटीमा अघि बढ्न लागिएको उनले बताए । उनका अनुसार वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तीय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीका लागि पेन्सनबराबरको आर्थिक सहायता उपलब्ध गराउन निवृत्तिभरण कोषको व्यवस्था गर्न लागेको हो । त्यस्तो कोषको व्यवस्था गर्न सरकारले सङ्घीय संसद्मा ‘निवृत्तभरण कोषसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गरिसकेको छ । सो विधेयकमा सेवानिवृत्त कर्मचारीले आर्थिक सहायता पाउने सुनिश्चित गरिएको छ । सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चिरस्थायी बनाउन पनि सो कोषको आवश्यकता परेको अर्थमन्त्री डा. खतिवडाको भनाइ छ ।

ट्रेड युनियनहरूले पनि सरकारी कर्मचारीका निम्ति योगदानमा आधारित पेन्सन प्रणाली तत्काल शुरू गर्नुपर्ने बताएका छन् । जिफण्ट केन्द्रीय अनुशासन निरीक्षण आयोगका प्रमुख विष्णु लम्सालले सधैंभरि दातृ निकायको रकमबाट कर्मचारीलाई पेन्सन दिन सम्भव नहुने बताए । उनले प्रणाली शुरू गरेर मात्रै नहुने बताउँदै कार्यान्वयनका निम्ति बलियो संयन्त्र आवश्यक रहेकोमा जोड दिए । यो खबर आर्थिक अभियानबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *