शेयर बजार: नेप्से र कारोबार दुवै बढ्यो

Sharing is caring!

भदौ ३, २०७५ । धितोपत्र बजारमा यस साता १ अर्ब ४३ करोड ३२ लाख ९४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १ सय ८५ कम्पनीको ४५ लाख २ हजार ४ सय ५० कित्ता सेयर खरिद-बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ५६.१० प्रतिशत बढी हो । गत साता १८१ कम्पनीको ३६ लाख ४७ हजार ८४० कित्ता सेयर ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँ बराबरका खरिद-बिक्री भएका थिए । गत साताको तुलनामा यस साता कारोबार रकम र नेप्से परिसूचकसमेत उकालो लागेर लगानीकर्तालाई खुसी तुल्याएको छ ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ४६.३८ अंकले बढेर अन्तिम दिन १ हजार २१०.३२ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने ‘संवेदनशील परिसूचक’ पहिलो दिनको तुलनामा ९.६८ अंकले बढेर २५५.३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको थियो ।
यस्तै कारोबार भएको सेयर संख्याको आधारमा मेगा बैंक लिमिटेड अग्रस्थानमा छ । सो बैंकको १ लाख ७५ हजार कित्ता सेयर खरिद बिक्री भएका थिए । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *