गृहमन्त्री जिम्मेवार नभए प्रधानमन्त्रीले जवाफ दिनुपर्छ : गगन थापा

Share this news:

जेठ २०, २०८१ । कांग्रेस महामन्त्री एवम प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनभित्र विषय डाइभर्ट गर्न बोलेका विषयमा जिम्मेवारी लिनुपर्ने बताएका छन् ।

उनले सभामुख देवराज घिमिरेलाई सांसद र मन्त्रीलाई सभाप्रति मर्यादित बनाउन पनि आग्रह गरेका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधि सभा बैठकमा महामन्त्री थापाले विशेष समयमा बोल्दै सहकारी ठगी प्रकरण मोड्नलाई गृहमन्त्री रवि लामिछानेले हुँदै नभएको विषयमा अभिव्यक्ति दिएको बताए ।

उनले सहकारी बचत अपलचलनमा आफूमाथि उठेको प्रश्न छल्नलाई ‘संसदले विदेशीलाई सूचना बेच्छन’ भन्ने गैर जिम्मेवार आरोप लगाएको भन्दै त्यसको सत्यता पुष्टि गर्नुपर्ने बताए । साथै उनले गृहमन्त्रीले सोबारे जवाफ नदिए प्रधानमन्त्री जिम्मेवार हुनुपर्नेमा जोड दिँदै भने, ‘सदन चटक देखाउने ठाउँ होइन । पोस्ट ट्रुथ पोलिटिक्सको जुन खालको क्यारेक्टर हुन्छ त्यो अहिलेसम्म सदनमा आएको थिएन । यो पटक सदनमा छिर्याउने कोसिस गरियो । विषयवस्तुबाट बरालिएर अर्कोतिर लैजानको लागि सदनको मन्त्रीले गरेको कार्य डरलाग्दो छ । पछि पनि हुनसक्छ ।’

उनले थपे,‘सदनमा एउटा विषयवस्तु आउँदैगर्दा प्रश्नबाट बच्न सरकारका प्रधानमन्त्री र मन्त्रीले सबै यसै गर्न थाले भने सदन कहाँ पुग्छ ? कांग्रेस यो कुरामा प्रष्ट हुन चाहन्छ । सदनमा जुन कुरा भनियो, जुन कुरा सुनियो कि प्रधानमन्त्रीले अन गर्नुस तपाईंसँगै हिसाबकिताब गरौंला । होइन भने प्रधानमन्त्रीले त्यो कुरालाई रेकर्डबाट हटाउँछु भन्नुपर्छ । होइन भने यही सदनमा प्रधानमन्त्रीसँग हिसाबकिताब लिइन्छ ।’

सहकारी ठगी प्रकरणमा समितिको काम नगर्दासम्म आफूहरुले कांग्रेसका सांसदलाई सदनमा नबोल्न आग्रह गरेको बताएका थापाले सहकारी प्रकरणमा एमालेको स्ट्याण्ड र सरकारको काम कांग्रेसले केही समय चुपचाप हेर्नेमा जोड दिए । उनले कांग्रेसले सदन अवरोध गरेका दिनको आफूहरु सरकारका काममा सघाएर क्षतिपूर्ति दिन तयार रहेको पनि जिकिर गरे ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *