सरकारको आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च

Share this news:

जेठ २, २०८१ । चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब ८९ करोड रुपियाँ खर्च गरेको हो । लक्ष्य अनुरूप राजस्व सङ्कलन हुन नसकेपछि सरकारी वित्त घाटा झन् फराकिलो भएको हो ।

कार्यालयका अनुसार चैतसम्म लक्ष्यको ५८.२ प्रतिशत मात्र आम्दानी भएको हो । आम्दानी शीर्षकमध्ये सबैभन्दा धेरै राजस्व शीर्षकमा आठ खर्ब ३१ अर्ब ९३ करोड रुपियाँ सङ्कलन भएको छ । जसमध्ये कर शीर्षकतर्फ सात खर्ब ४६ अर्ब ८३ करोड रुपियाँ आम्दानी देखिएको छ भने गैरकरतर्फ ८५ अर्ब १० करोड रुपियाँ आम्दानी भएको छ । यसबाहेक सरकारले समीक्षा अवधिसम्म दुई अर्ब ७५ करोड रुपियाँ अनुदान र अन्य प्राप्तितर्फ २२ अर्ब ३३ करोड रुपियाँ आम्दानी गरेको छ । चालु आवमा सरकारले सार्वजनिक ऋणबाहेक १४ खर्ब ७२ अर्ब ४८ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ ।

झन् खस्कियो पुँजीगत खर्च

समीक्षा अवधिसम्म सरकारको पुँजीगत खर्च झन् खस्किएको देखिएको छ । गत आवको तुलनामा पुँजीगत खर्च नै घटाएको सरकारले समीक्षा अवधिसम्म लक्ष्यको ३७.०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड रुपियाँ पुँजीगत खर्च गरेको छ । गत आवको चैतसम्म भने सरकारले एक खर्ब २५ अर्ब ६७ करोड रुपियाँ खर्च गरेको थियो जुन लक्ष्यको ३३.०४ प्रतिशत हुन आउँछ । प्रतिशतमा बढी देखिएमा पुँजीगत खर्चको लक्ष्य नै घटाएको अवस्थामा सरकारले गरेको खर्च रकममा भने घटेको देखिएको छ । यसबाहेक चालुतर्फ सरकारले लक्ष्यको ६५.९१ प्रतिशत अर्थात् सात खर्ब ५२ अर्ब ५५ करोड रुपियाँ खर्च गरेको छ । सार्वजनिक ऋणको ब्याज तिर्न यस वर्ष वित्तीय खर्च बढाएको सरकारले चैतसम्म यस शीर्षकमा एक खर्ब ९२ अर्ब ४५ करोड रुपियाँ खर्च गरेको छ, जुन लक्ष्यको ६२.६ प्रतिशत हुन आउँछ । यो खबर गोरखापत्रबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *