नेपालले बलियो आर्थिक संरचना सिर्जना गर्ने नीति लिएको छ : प्रधानमन्त्री

Share this news:

जेठ २, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहालले नवप्रवर्तन र उद्यमशीलता विकास गरी सरकारले बलियो आर्थिक संरचना निर्माण गर्ने नीति लिएको बताएका छन् । उनले सो नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउने र आर्थिक विस्तारमा सहयोग पुग्ने अपेक्षा व्यक्त गरे ।

बुधबार काठमाडौंमा नेपाल–युरोपेली संघबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका अवसरमा आयोजित ‘नेपाल–इयु व्यापार मञ्च’ को उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सरकार व्यवसायका लागि खुलापन सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए ।

‘सरकारले नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढवा दिने नीति लिएको छ । बलियो आर्थिक संरचना सिर्जना गर्ने नेपालको नीतिले अन्तर्राष्ट्रिय साझेदारी बढाउँछ र आर्थिक विस्तारमा सहयोग गर्छ’ दाहालले भने ।

यस्तै दाहालले गत महिना सम्पन्न लगानी सम्मेलनबाट अन्तर्राष्ट्रिय समुदाय नेपालमा लगानी ल्याउन उत्सुक छ भन्ने सन्देश प्रवाह भएको जिकिर गरे ।

उनले वैदेशिक लगानी भित्र्याउन नेपाल युरोपेली सङ्घका सदस्य मुलुकहरूसँग थप सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेका छन् ।

सरकारले ५० करोडसम्मका प्रत्यक्ष वैदेशिक लगानीका आवेदनका लागि हालै ‘स्वचालित रुट’ सुरु गरेको जानकारी दिँदै उनले त्यसले नेपालमा व्यवस्थापकीय दक्षता र पूँजी भित्रिने विश्वास व्यक्त गरे ।

दाहालले भने, ‘हामीले स्वचालित मार्गमार्फत प्राप्त लगानीका केही आवेदनहरू स्वीकृत गरी अन्तर्राष्ट्रिय साझेदारमार्फत हाम्रा प्रयासहरूलाई बलियो बनाउन खोजिरहेका छौँ । यसले नेपालमा पुँजी मात्र होइन प्राविधिक र व्यवस्थापकीय विशेषज्ञता पनि ल्याउनेछ ।’

यस्तै, दाहालले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हुने हरित अर्थव्यवस्थालाई सरकारले प्राथमिकता दिएको स्पष्ट पारे ।

‘हाम्रा विकासका गतिविधिहरू राष्ट्रिय हित र विश्वव्यापी वातावरणीय लक्ष्यहरूसँग मिल्दाजुल्दा छन् । नेपाल पेरिस सम्झौताप्रति सधैँ प्रतिबद्ध छ । हाम्रा विकास योजना र कार्यक्रमहरूमा जलवायु कार्यलाई सक्रियरूपमा समावेश गर्दै आएको छौँ ।’

स्रोत र क्षमताको अन्तर र जलवायु परिवर्तनले निम्त्याएका निरन्तरका चुनौतीको सामना गर्दै नेपाल सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा पुग्ने प्रतिबद्धता दाहालले पुन दोहोर्याएका छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *