क्यान इन्फोटेक मेला माघ २५ देखि

Sharing is caring!

माघ १८, २०८० । बर्सेनि हुँदै आएको सूचना प्रविधि मेला क्यान इन्फोटेकको २९ औं संस्करण यसपटक माघ २५ गतेदेखि हुने भएको छ । आयोजक क्यान महासंघले बिहीबार पत्रकार सम्मलेन गर्दै भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने पाँचदिने मेलाको तयारी अन्तिम चरणमा रहेको जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ प्रविधिको प्रदर्शनी, बिक्री तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति मेला आयोजना हुँदै आएको छ । सार्थक अन्तरक्रियासहितको उद्देश्यले मेला आयोजना गर्न लागेको महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए ।

उनले भने,‘माघ २५ देखि राजधानीमा एसपावर क्यान इन्फोटेक २०२४ हुँदैछ । हामी तयारीको अन्तिम चरणमा छौ । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधिको प्रदर्शनी हुनेछ ।’ भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला गदैछौ. ।’

मेलालाई यसपटक आयोजकले एस पावर क्यान इन्फोटेक नाम दिएका छन् । क्यान इन्फोटेकको टिकेटिङ पार्टनर इसेवामार्फत मेलाको प्रवेश टिकट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि १०० र विद्यार्थीका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ । सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने जनाइएको छ ।

क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एसेसरिज, प्रडक्ट लञ्चिङसँगै आईटी करिअर काउन्सिलिङ, स्टार्टअप तथा इनोभेसन पेभिलियन, सफ्टवेयर पेभिलियनको व्यवस्था गरिएको छ । नेपालमै अनुसन्धान र विकासमार्फत तयार भएका प्रडक्ट र सलुसनलाई प्राथमिकता दिइने आयोजनाले जनाएका छन् । जसअन्तर्गत इनोभेटिभ तथा स्टार्टअप पेभिलियनका लागि नेपाली स्टार्टअपलाई निःशुल्क स्टलको व्यवस्था गरिएको छ ।

अहिलेसम्म क्यान इन्फोटेकका लागि ९० प्रतिशत अर्थात् १ सय २० बढी स्टल बुकिङ भइसकेको छ । मेलाको यो संस्करणलाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा महासंघले गरेको छ । काठमाडौंमा समापन भएपछि सातै प्रदेशमा क्यान इन्फोटेक मेला गर्ने महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *