समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने

Sharing is caring!

पुस ११, २०८० । सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित चार कम्युनिष्ट पार्टीहरू सम्मिलित समाजवादी मोर्चाले देशका प्रमुख शहरहरूमा सन्देश सभा गर्ने भएको छ ।

बुधबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लामा मोर्चाका जिल्ला कमिटीहरू गठन गर्ने र प्रमुख शहरहरूमा सन्देश सभा गर्ने निर्णय गरेको हो । कुन शहरमा कहिले कस्ता कार्यक्रम गर्ने भन्ने विषयमा भने टुंगो लागिसकेको छैन ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्रप्रसाद श्रेष्ठले प्रमुख शहरहरूमा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षतासहितका सवालहरूका विषयमा सन्देश दिने गरी सन्देश सभा गर्ने विषयमा छलफल भएको बताए ।

मोर्चाले अहिलेसम्म गरिरहेका कार्यक्रमहरूको विषयमा समीक्षा भयो । वर्तमान राजनीतिक परिस्थितिका विषयमा समेत कुराकानी भयो,’ उनले भने, ‘हाम्रो राजनीतिक आन्दोलनको उपलब्धिकारुपमा रहेका संघीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली लगायतका विरुद्धमा अहिले चारैतिरबाट आक्रमण भइरहेको अवस्था छ । यसलाई सरकारले केही हदसम्म तोडेको पनि छ । तर यसबारे अझै प्रष्टता छैन । मोर्चाकातर्फबाट हामीले देशका प्रमुख शहरहरूमा सन्देश दिने गरी कार्यक्रमहरू गर्ने निर्णय गरेका छौँ । उनले त्यसबारे बुधबारै बेलुका बस्ने बैठकले थप छलफलपछि निर्णय गर्ने बताए ।

‘संविधान र व्यवस्थाकोविरुद्धमा कतिपय शक्तिहरू लागेका छन्, त्यसलाई सरकारले निष्तेज पार्दै पनि लगेको छ,’ नेता श्रेष्ठले भने, ‘सरकारले गरिरहेका राम्रा काम र प्रयासहरूका विषयमा जनतालाई सन्देश पनि पु¥याउनुपर्नेछ ।’
बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम विप्लव लगायत शीर्ष नेताहरू सहभागी थिए ।

अर्को बैठक बुधबार साँझ ६ बजे बस्ने नेताहरूले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *