नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान भएन : सांसद प्रदिप पौडेल

Sharing is caring!

वैशाख ११, २०८१ । नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबथोक पर्याप्त रहेको टिप्पणी गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा आज आयोजित ‘लोकतान्त्रिक प्रणालीमा नीति, नेतृत्व र नैतिकता’ विषयक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै सांसद पौडेलले नेपालमा नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान नभएको बताएका हुन् ।

उनले भने, ‘नेपाली लोकतन्त्रमा नीति, नेतृत्व र नैतिकता बाहेक सबै छन् । तर हामीसँग नीति र नेतृत्व भएपनि राजनीतिक नेतृत्व नैतिकवान छैन । हामीले बुझेको लोकतन्त्र यही हो त ?’ राजनीतिक दलहरुले लोकतन्त्रलाई प्राथमिकताका नराखेको उल्लेख गर्दै सांसद पौडेलले लोकतन्त्र प्राथमिकतामा नपरेको हो कि भन्दै प्रश्न गरेका छन् ।

उनले अघि भने,‘लोकतन्त्र हाम्रो प्राथमिकतामा नपरेको हो कि ? यो लोकतन्त्रले काम गर्दैन भनेर निष्कर्ष निकाल्ने स्थितिमा पुगिएको हो कि ? राजनीतिक दलहरुले जुन किसिमले यस विषयलाई प्राथमिकतामा राख्नुपर्ने हो त्यो नराखेको स्पष्ट देखिन्छ ।’

केही टेलिभिजनहरुले लोकतन्त्र स्थापनाका लागि सडकमा संघर्ष गरेका नेताहरुलाई सडकमा ढुंगामुडा गरेर राजनीतिमा आएका हो त नि भन्ने भाष्य समाजलाई दिन खोजेको आरोप लगाए । लोकतन्त्रले नैतिकताको नजिर बनाउन नसकेको पौडेलको भनाइ छ ।

उनले प्रश्न गर्दै भने, ‘आजको लोकतन्त्रसँग समाजको अपेक्षा के थियो । लोकतन्त्रले नैतिकताको नजिर बनाउन किन सकेन ? नेतृत्वले नैतिकताको नजिर बनाउन किन सकेन ?’ लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको उल्लेख गर्दै पौडेलले यसको विकल्प अन्य कुनै शासन प्रणाली हुन नसक्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *