‘इपिसेन्टर’ बालकोट

Share this news:


असार १८, २०८१ । पछिल्लो तीन दिनमा भएको राजनीतिक भेटघाटले नेपाली राजनीति तरंगित भएको छ । तरंगित राजनीतिले कुन दिशा लिन्छ भन्ने विषय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्णयमा भर पर्ने नेताहरू बताउँछन् ।

सोमबार साँझ पार्टीका पदाधिकारीहरूसँग छलफल गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले मंगलबार बिहान पार्टीका तर्फबाट सरकार सहभागी मन्त्रीहरूलाई आफ्नै निवास बालकोट बोलाएका छन् । नेताहरूका अनुसार ओलीले नयाँ समीकरण बनाउने निर्णय लिए मन्त्रीहरूलाई फिर्ता हुन भन्नेछन् । केही समयपछि फिर्ता हुने भए सोही अनुसार निर्देशित गर्ने र फिर्ता नहुने भए पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सहयोग गर्नेमा आफूहरू प्रष्ट रहेको सन्देश दिनेछन् ।

अर्थात, भक्तपुरको बालकोटस्थित केपी शर्मा ओलीको निवासबाट हुने निर्णयले भावी राजनीति तय गर्नेछ । जहाँ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुगेपछि नेपाली राजनीति तरंगित भएको हो । गत शनिबार अपरान्ह शेरबहादुर देउवा ओली निवास बालकोट पुगेका थिए । साढे तीन घण्टा ओलीसँग देउवाले छलफल गरे ।

आइतबार बिहानै ओली प्रचण्डलाई भेट्न सिंहदरबार पुगे । त्यहाँ ओलीले प्रचण्डसँग साढे दुई घण्टा छलफल गरे । आइतबार नै शीर्ष नेताहरुबीच भएको संवाद दोस्रो तहमा नेताहरू समक्ष समेत ब्रिफिङ भयो ।

मंगलबार बिहानै ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगे । प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै तीन घण्टा भएको भेटमा दुई नेताबीच सत्ता समीकरण, बजेट, बिभिन्न नियुक्तिदेखि भावी सहकार्यकै विषयमा छलफल भएको थियो ।

भेटमा प्रचण्डले वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्री बन्न ओलीलाई सुझाएका छन् । यसका लागि आफ्नो चाहना संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पास गरौं भन्ने रहेको र यसका लागि सात÷आठ महिना लागे त्यसपछि आफू सरकार छाड्न तयार रहेको बताए ।

उता कांग्रेसले पनि ओलीलाई प्रधानमन्त्री प्रस्ताव गरेको छ । सोमबार कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बसेको थियो । जहाँ सभापति देउवाले ओलीसँग भएको भेटबारे ब्रिफिङ गरेका थिए ।

त्यसक्रममा देउवाले कांग्रेस–माओवादी गठबन्धन भएको बेला आफूले एमाले अध्यक्ष ओलीसँग किन दुरी राखेको भनेर स्पष्टीकरण दिए । तर अहिले प्रधानमन्त्री प्रचण्डले नै धोका दिएकाले अब आफूलाई पनि ओलीसँग सम्वाद अगाडि बढाउन आफूलाई समस्या नभएको बताए ।

नेताहरूका अनुसार देउवाले औपचारिक रूपमै आलोपालोमा सरकारको नेतृत्व गर्ने प्रस्ताव गरेका छन्, त्यसमा ओली सकारात्मक छन् ।

तर प्रचण्डसँग ओलीको संवाद पनि टुटेको छैन । प्रधानमन्त्री प्रचण्डले धितोपत्र बोर्डको अध्यक्षमा आफ्नो रुचि नरहेको र कसैले खेलेको स्पष्ट पार्दै ओलीको रोजाइका पात्रलाई बनाउन आफू तयार भएको बताएका छन् । ओलीले परराष्ट्र मन्त्रालयमा अत्यधिक रुचि देखाएको भन्दै प्रचण्डले यसका लागि समेत आफू तयार रहेको बताएका छन् ।

नेताहरूका अनुसार पछिल्लो तीन दिनको घटनाक्रम नियाल्दा देउवा ओलीसँग मिलेर नयाँ सरकार बन्नेमा आशावादी देखिएका छन् । तर प्रचण्ड पनि ओलीले आफूलाई समर्थन जारी राख्नेमा ढुक्क छन् ।

निर्णायक भूमिकामा रहेका ओलीले प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन जारी राख्छन् कि कांग्रेसको समर्थनमा आफैं प्रधानमन्त्री हुने बाटो रोज्छन्, भन्ने निर्णय नेताहरू कुरिरहेका छन् ।  यो खबर मध्यान्हबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *