गैर कानुनी रुपमा सुनचाँदी व्यवसायहरु संचालन भइरहेका छन् : अध्यक्ष बज्राचार्य

Share this news:

असार १४, २०८१ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न बज्राचार्यले गैर कानुनी रुपमा सुनचाँदी व्यवसायहरु संचालन भइरहेको बताएका छन् । 

आज नेपाल सुनचाँदी व्यवसायी महासंघको नवौं, दशौं र एघारौं वार्षिक साधारण सभा तथा चौथौ महाधिवेशन समारोहमा उनले यो व्यवसाय असुरक्षित तरिकाबाट चलेको भन्दै  आवश्यक कानूनको व्यवस्था गरी सुरक्षित र मर्यादित बनाउन माग गरेका छन् ।

उनले भने, ‘यस व्यवसायका लागि हालसम्म कुनै पनि ऐन कानून नबनेकोले यो व्यवसाय अत्यन्तै असुरक्षित तरिकाबाट, कानूनी सुरक्षा विना नै संचालन भई आएको छ । यो व्यवसाय हाल आधुनिकीकरणमा गई सकेको, अरबौंको ठूलो लगानीकासाथ व्यवसाय संचालन भई रहेको, २० हजार भन्दा बढी व्यवसायीहरु रहेको, २ लाख भन्दा बढीलाई रोजगारी दिईरहेको सन्दर्भमा यसलाई आवश्यक कानूनको व्यवस्था गरि सुरक्षित र मर्यादित बनाउनु अत्यन्त जरुरी भई सकेको छ । यसको लागि यस महासंघले नेपाल सरकार कानून मन्त्रालय, उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालय लगायत संसदीय कानून निर्माण समितिमा समेत ऐनको मस्यौदा बनाई बुझाई सकेता पनि यसलाई पूर्णता दिन सकिएको छैन ।’

उनले कुनै व्यवसायको उद्योगले दैनिक एक किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई प्यान नम्बरको आधारमा एक किलो नै सुन पाउने र कसैले पाँच किलोको क्षमता राख्छ भने सोही बमोजिम सुन उपलब्ध हुनेगरी सुनको आपूर्ति खुला गर्नुपर्ने बताए ।

उनले भने, ‘सुनचाँदीको गरगहना बनाउन आवश्यक पर्ने कच्चा पदार्थ सुन चाँदीलाई पर्याप्त रुपमा आपुर्तिको व्यवस्था भएको छैन । हाल नेपालमा सुन दैनिक २० किलो र चाँदी आयात गर्दा ६० हजार डलरको सीमा रहेकोले यसले नेपालको सुनचाँदीको बजारलाई नियन्त्रित गरेको छ । कुनै व्यवसायीको उद्योगले दैनिक १ किलो सुनको गरगहना उत्पादन गर्ने क्षमता राख्छ भने उसलाई प्यान नं. को आधारमा १ किलो नै सुन पाउने, कसैले ५ किलोको क्षमता राख्छ भने सोही बमोजिम र कसैलाई ५० ग्रामको आवश्यकता छ भने सोही बमोजिम सुनको उपलब्ध हुने गरि सुनको आपुर्ति खुला गरिनु पर्दछ ।’

उनले बजेटमा पुराना नीतिलाई निरन्तरता दिने क्रममा त्रुटीहरु सच्याउँदै लानु पर्नेमा त्यसैलाई निरन्तरता दिएको भन्दै यसबाट नेपाली नागरिकहरु माथी विभेद र नेपालमा भारतीय गरगहनाहरु डम्प हुने मौका पाएको बताए ।

उनले भने, ‘बजेटमा पुराना नीतिलाई निरन्तरता दिने क्रममा त्रुटीहरु सच्याउँदै लानु पर्नेमा त्यसैलाई निरन्तरता दिइँदा नेपाली नागरिक स्वदेश आउँदा २५ र ५० ग्रामसम्म मात्र सुनका गरगहनाहरु लिएर आउँदा भन्सार छुट पाउने तर भारतीय नागरिकहरुले विहे लगायतका कार्यक्रममा भाग लिन नेपाल आउँदा जतिपनि सुनका गरगहनाहरु लगाएर आए पनि डिक्लेयर मात्र गरि लिएर आउन पाउने नियमले निरन्तरता पाउँदा यसबाट नेपाली नागरिकहरु माथी विभेद गरेको छ भने नेपालमा भारतीय गरगहनाहरु डम्प हुने मौका पाएको छ ।’

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य रणेन्द्र बराइलीले सुनचाँदी व्यवसायी संघ संस्थाहरुलाई नीतिनियमका साथ अगाडि बढाउनु पर्ने बताएका छन् ।

उनले यस्ता संस्थालाई उचाइमा पु¥याउनु पर्ने भन्दै त्यसको लागि कार्यक्रमहरु, कार्य योजनाहरु र नयाँ किसिमका विधि विधानहरु आवश्यक रहेको बताए ।

उनले भने, ‘हामीले केही कामहरु गरेर यसको गरिमालाई, बढाउनु छ त्यसको लागि वर्तमान समितिको लागि केही गर्नुपर्छ । नीति नियम, कार्यक्रमहरु, कार्य योजनाहरु नयाँ किसिमका विधि विधानहरु बनाएर यो संस्थालाई उचाइमा पु¥याउने हामी सबैको जिम्मेवारी हो, त्यसकारण मैले सुनचाँदी व्यवसायलाई व्यवस्थापन गर्न बनेको विधेयक नाम गरेको एउटा विधेयक ल्याउनु, म सदनमा राख्छु त्यसलाई पास गर्न पहल गर्छु भनेर भनेको छु ।’

उनले गोल्ड बैंकको स्थापना गरेर व्यापारिक संस्थाहरुलाई सिधैँ विदेशबाट सुन निकास गर्न पाउने व्यवस्था गर्नुपर्ने पनि बताए ।

उनले भने, ‘गोल्ड बैंकको स्थापना गरेर यसको माध्यमबाट कानूनी प्रक्रिया पूरा गरि दर्ता भएको व्यापारिक संस्थाहरुलाई सिधैँ विदेशबाट सुन निकास गर्न पाउने व्यवस्था गर्नु पर्यो । भन्ने कुरा सदनमा पनि राखेको छु । यो बैंक स्थापना गरेर यसले विभिन्न प्रदेश जिल्लामा र अन्य क्षेत्रमा शाखा खोलेर सुनचाँदी खरिद बिक्री गर्न पाउने कुरालाई निस्वार्थ बजार व्यवस्था अनुसार किन्न पाउनु पर्ने हुन्छ ।’

सरकारले, राज्यका अन्य निकाय, प्रशासन, राजनीतिक पार्टी सबैले सुनचाँदी व्यवसायी संघ, संस्थालाई हेर्ने दृष्टिकोणमा नै खोट रहेको भन्दै यसमा सुधार आवश्यक रहेको पनि उनको भनाई छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *