सम्झनामा सन्त नेताः ‘सेन्स अफ ह्युमर’ का धनी भट्टराई

Share this news:

पुस ८, २०८० । नेपाली कांग्रेसका संस्थापक नेतामध्येका एक नेता कृष्णप्रसाद भट्टराईको आज शताव्दी जन्मजयन्ति हो। नेपाली राजनीतिमा किशुनजी नामले परिचित भट्टराई वि.सं.१९८१ सालमा जन्मिएका हुन् भने २०६७ मा उनको निधन भएको हो।

युवा अवस्थामै भट्टराई २०१५ सालमा नेपालको पहिलो संसदको पहिलो सभामुख चुनिएका थिए। उनी २०४६ को जनआन्दोलनपछि बहुदलीय व्यवस्थाको पुनस्थानासँगै अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएर निर्धारित एकवर्षमै संविधान बनाउन सफल भएका थिए।

वि.सं. २००३ सालमा नेपाली काङ्ग्रेस गठन गर्दा देखि नै नेपालको राजनीतिमा सक्रिय रुपमा संलग्न भट्टराईले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपु र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरको जिम्मेवारी सम्हालेका थिए।
आफू प्रधानमन्त्री हुँदै गराएको २०४८ को आम निर्वाचनमा आफू काठमाडौँको क्षेत्र नम्बर एकबाट पराजित भएका थिए। पछि २०५६ को आम निर्वाचनमा नेपाली कांग्रेसले भावी प्रधानमन्त्री भनेर भट्टराईलाई निर्वाचनको मुख्य आकर्षण बनाएपछि उनी पर्सा एकबाट बिजयी भै छोटो समय प्रधानमन्त्री भएका थिए।

गान्धीवादी सन्त नेता भट्टराई दृढ अठोट र संकल्पका धनी व्यक्तित्व मानिन्थे। यिनी स्पष्टवक्ता र सिद्धान्तनिष्ठ नेताका रूपमा चिनिन्छन्। हरदम हँसिलो रहने भट्टराईको ‘सेन्स अफ ह्युमर’ उनको व्यक्तित्वको उच्च कोटीको शैली मानिन्छ। गम्भीर समस्यालाई हल्का रूपमा लिएर पचाउने क्षमता यिनमा रहेको परिचितहरु सम्झन्छन्। पदमा बस्दा व्यक्तिगत लाभमा नमुछिएकाले यिनलाई स्वच्छ छवि भएका नेताको रूपमा लिइन्छ। स्व. पिता संकटाप्रसाद र स्व. माता ललितादेवीका कान्छा छोराका रूपमा वि.सं. १९८१ पौष कृष्ण द्वादशीका दिन भारतको बनारसमा भएको थियो।

राणा प्रधानमन्त्री वीर सम्शेरको वक्रदृष्टिमा परेका पं. विश्वनाथ भट्टराई सपरिवार बनारस निर्वासनमा गएपछि उनी त्यहींबाट बिहारको रामनगर राज्यका राजाका पुरोहित बन्न पुगे। उनका छोरा संकटाप्रसाद पनि तिनै रामनगर रामराजाका पुरोहित थिए। यिनका चारै भाइ छोराहरू भने बनारसमा बसेर अध्ययन गर्दथे। त्यहींबाट यी चारैजना भारतीय स्वतन्त्रता आन्दोलनमा सक्रिय भएका थिए। दाइहरूको प्रभावले कान्छा कृष्णप्रसाद राजनीतिमा झन अगुवा हुन पुगे।

गोर्खा दरबारमा पुरोहित यज्ञेश्वर भट्टराईका छोरा पति भट्टराई पृथ्वीनारायण शाहसँग काठमाडौँ आएर दरबारमा नै पुरोहित भई बसे। यिनको सन्तति परम्परामा क्रमशः विष्णुहरि, कृष्णलाल, मेदिनीधर, कमलकान्त, विश्वनाथ हुँदै पछिल्लो पुस्तामा संकटाप्रसाद भए। संकटाप्रसादका चार भाइ छोरा बटुकप्रसाद, नारायणप्रसाद, गोपालप्रसाद र कृष्णप्रसाद थिए। यी चार मध्येका कान्छा छोरा कृष्णप्रसाद हुन् भट्टराई।

बनारसमा जन्मेका कृष्णप्रसादको शिक्षा पनि बनारसमा नै भएको थियो। यिनले काशी हिन्दू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा बि.ए. सम्मको अध्ययन पूरा गरेका थिए। सोही विषयमा एम.ए. तहको अध्ययन पनि गरिसकेका भट्टराई भारतीय स्वतन्त्रता सँग्राममा सहभागी भएका कारण पक्राऊ परेकाले सो तहको परीक्षा दिनबाट बञ्चित भएकाकाले यिनको एम. ए. तहको अध्ययन पूरा हुन सकेन।

कृष्णप्रसाद भट्टराई युवावस्थामा पत्रकार थिए। साथै उनी सोभियत सङ्घको कम्युनिष्ट पार्टीका महासचिव निकिता ख्रुश्चेभको अन्तर्बार्ता लिने प्रथम विदेशी पत्रकार थिए। भट्टराई सन १९४२ को अङ्ग्रेज भारत छोडो स्वतन्त्रता आन्दोलनमा सक्रिय सहभागी भएर पहिलो पटक अङ्ग्रेज सरकारबाट पक्राउ परेका थिए। सन् १९४५ मा बनारस हिन्दू युनिभर्सिटी स्थित नेपाल छात्र संघको उपाध्यक्षका रूपमा रहेर नेपाली विद्यार्थीहरू बीच राजनीतिक चेतना फैलाउने काममा भट्टराई सक्रिय रहे। त्यसपछि नेपालको निरङ्कुशतन्त्र हटाउन आन्दोलन गर्नुपर्ने सम्बन्धमा छलफल हुन थाले। बीपी कोइराला र अन्य केही तात्कालीन युवाहरू पहिलेदेखि नै सँगठनमा लागेका थिए।

नेपालको १०४ वर्ष लामो निरङ्कुश राणा शासन समाप्त पारेर संवैधानिक राजतन्त्रात्मक प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले पहिलो पटक वि.सं. २००३ मा भारतको बनारसमा अखिल भारतीय नेपाली राष्ट्रिय काङ्ग्रेस नामक संस्था गठन भयो। देवीप्रसाद सापकोटाको सभापतित्वमा बनेको उक्त संस्थाका महामन्त्री रहेका भट्टराईले वि.सं. २००३ माघमा कोलकातामा स्थापित नेपाली राष्ट्रिय कांग्रेसमा सँगठन मन्त्रीको पद सम्हालेका थिए।

नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस मिलेर वि.सं. २००६ चैतमा नेपाली काङ्ग्रेस गठनपछि यिनी सहमहामन्त्रीको पदमा पुगे। यिनले २००७ सालको सशस्त्र क्रान्तिमा जनकपुर र उदयपुर कब्जा गर्ने मुक्ति सेनाको कमाण्डरका रूपमा काम गरेका थिए।

२०१७ पौष १ गतेका दिन थापाथलीमा सम्पन्न हुँदै गरेको तरुण दलको सभास्थलबाट तात्कालीन प्रधानमन्त्री बीपी कोइरालासँगै तरुण दलको अधिवेशन स्थल त्रिपुरेश्वरबाट पक्राउ परेपछि भट्टराईले निरन्तर १० वर्षसम्म जेल बस्नुप¥यो। त्यसपछि पनि पटक–पटक जेल परेका भट्टराईले आफ्नो जीवनमा १४ वर्षभन्दा बढी समय सुन्दरीजल जेलमै बिताउनुपरेको थियो। एक दशक लामो जेल जीवनबाट मुक्त हुने वित्तिकै २०२७ वैशाख ६ गते नेपाल विद्यार्थी सङ्घ स्थापना समारोहको उद्घाटन गर्ने भट्टराईले विद्यार्थी आन्दोलनलाई सक्रिय पार्न विशेष योगदान दिएका छन्।

२०३४ मा सम्पन्न भएको पटना सम्मेलनबाट बीपी कोइरालाले स्वास्थ्यको कारण देखाई भट्टराईलाई नेपाली कांग्रेसको कार्यवाहक सभापति बनाए। बीपीको निधन पछि २०३९ मंसीरमा गणेशमान सिंह निवास क्षेत्रपाटीमा सम्पन्न सम्मेलनबाट पुनः कार्यवाहक सभापतित्वमा समर्थित भएका भट्टराईले करिब डेढ दशक कार्यवाहक सभापति कै रूपमा रहेर नेपाली काङ्गेसको नेतृत्व सञ्चालन गरे। नेपाली कांग्रेसको आठौँ महाधिवेशन २०४८ बाट सर्वसम्मतिबाट सभापतिमा निर्वाचित गरेपछि यिनले २०५३ सम्म सभापतिको पद सम्हाले।

भट्टराईको १७ वर्षे सभापतित्व कालमा २०४२ को देशव्यापी सत्याग्रह सम्पन्न भयो। २०४६ को जनआन्दोलन घोषणा भएको क्षेत्रपाटी सम्मेलनको सभापतित्व पनि यिनैले गरेका थिए। भट्टराईले नेपाली कांग्रेसको स्थापना कालदेखि नै बीपी कोइराला, सुवर्ण शम्शेर र गणेशमान सिंह तीनैजना नेताहरूसँग समान रूपले काम गर्दै आएका छन्। अहिंसात्मक आन्दोलनबाटै प्रजातन्त्र स्थापना गर्न सकिन्छ भन्ने दृढ अठोट र सङ्कल्प बोकेर करिब डेढ दशक जेल जीवन बिताउने भट्टराईले निर्वासन चाहिं कहिल्यै रूचाएनन्।

पार्टीको आन्तरिक कलह बढ्दै गएर २०५८ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बेला उनकै नेतृत्वमा पार्टी विभाजित भएर नेपाली काङ्ग्रेस प्रजातान्त्रिकका रूपमा अर्को पार्टी गठन भयो। यसबाट भट्टराई ज्यादै चिन्तित बने। पार्टी विभाजनको त्यस घटनापछि एक प्रकार उनी मौन बसे। २ खेमामा विभाजित नेपाली काँग्रेसलाई एकिकरण गर्ने कार्यमा यिनले ठूलो भूमिका निभाएका थिए।

राजतन्त्रबारे भनें उनको छुट्टै मत थियो। जनआन्दोलनपछि पनि उनी तत्कालै राजा हटाउने पक्षमा थिएनन्। यद्यपि गणतन्त्रको स्थापना पश्चात् उनी यस विषयमा मौन नै रहे। त्यसो त बिपी सिद्दान्तका साधक जसले कुनै न कुनै प्रकारको राजतन्त्र नेपालमा चाहिन्छ भनेर बारम्बार भन्थे नयाँ राजनीतिक माहोलमा उनका कुरा सुन्न छाडीएपछी उनी मौन रहेको कांग्रेस वृतमै बेलाबेलामा चर्चा चल्ने गरेको छ। नेपाली कांग्रेस गणतन्त्रको पक्षमा उभिने निर्णयमा पुगेपछि भट्टराईले पार्टीको सदस्यता परित्याग गरेका थिए।

सन्त नेता भट्टराईको २०६७ फागुन २० गते शुक्रबार राति ११ बजेर २६ मिनटमा काठमाडौँको नर्भिक अस्पतालमा मृत्यु भएका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *