आइपिएल : कोलकाता नाइट राइडर्स बन्यो प्लेआफमा पुग्ने पहिलो टोली

Share this news:

वैशाख ३०, २०८१ । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्स प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राति बर्षाले प्रभावित खेलमा मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो ।

कोलकाताले १२ खेल खेल्दा ९ खेलमा जितका साथ १८ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको राजस्थान रोयल्सको ११ खेलबाट १६ अंक रहेको छ । पराजित भएको मुम्बई भने पहिला नै प्लेअफ होडबाट बाहिर थियो । शनिबार कोलकातामा वर्षाका कारण यो खेल १६–१६ ओभरको खेलाइएको थियो ।

घरेलु मैदान इडेन गार्डेन स्टेडियममा टस हारेर ब्याटिङ गरेको कोलकाताले १६ ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । जवाफमा मुम्बई इन्डियन्सले १६ ओभरमा ८ विकेट गुमाएर १३९ रनमा रोकियो । वरुण चक्रवर्ती प्लेयर अफ दि म्याच भए । उनले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए ।

पहिला ब्याटिङ गर्दा कोलकाताको सुरुआत राम्रो भएन । ओपनर फिल साल्ट पहिलो ओभरको अन्तिम बलमा व्यक्तिगत ६ रन बनाएर आउट भएका थिए । त्यसपछि दोस्रो ओभरको पहिलो बलमै सुनिल नारायण जसप्रित बुमराहको बलमा बोल्ड भए । दुवै ओपनर आउट भएपछि बेंकटेश अय्यर र कप्तान श्रेयस अय्यरले पारि सम्हाल्न खोजेका थिए तर, पाँचौं ओभरको पहिलो बलमै श्रेयस अय्र ७ रन बनाएर आउट हुँदा कोलकाताले ४० रनको स्कोरमा तेस्रो विकेट गुमाएको थियो ।

त्यसपछि बेंकटेश र नितिश राणाले पारि अघि बढाए । ७७ रनको स्कोरमा बेंकटेश २१ बलमा ४२ रनको पारि खेल्दै विदा भए । नितिशले आन्द्रे रसेलसँग मिलेर टिमको स्कोर ११५ प्लस बनाए । ११६ रनको स्कोरमा नितिश रानाले २३ बलमा ३३ रनको पारि खेलेर विदा भएका थिए । आन्द्रे रसेल छैटौं विकेटको रुपमा टिमको स्कोर १२५ हुँदा आउट भएका थिए । रसेलले १४ बलमा २४ रन जोडे । रिंकु सिंहले १२ बलमा २० रन जोडेर आउट हुँदा कोलकाताको स्कोर ७–१४८ थियो । रमनदीप सिंहले ८ बलमा १७ रन बनाएर नटआउट पारि खेल्दा मिचेल स्टार्कले २ बलमा २ रन बनाए ।

मुम्बईका लागि जसप्रित बुमराह र पियुस चावलाले समान दुई–दुई विकेट लिँदा नुवान तुसारा र अन्सुल कमबोजले एक –एक विकेट लिए । १५८ रनको जवाफी लक्ष्यसहित मैदान उत्रिएको मुम्बईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि इशान किसन र रोहित शर्माले ६५ रन जोडेका थिए । इशान किसन २२ बलमा ४० रन बनाएर आउट भएका थिए । लगत्तै रोहित शर्मा पनि २४ बलमा १९ रन बनाएर आउट भएपछि मुम्बई दबाबमा आएको थियो ।

यस्तै, सूर्यकुमार यादव ११ रन बनाएर आउट हुँदा मुम्बईले ८७ रनमा तेस्रो विकेट गुमायो । टिमको स्कोर ९१ रन पुग्दा कप्तान हार्दिक पाण्ड्या व्यक्तिगत २ रन बनाएर पभेलियन फर्किए । टिम डेभिडले खाता पनि नखोलेपछि ९२ रनमा एमआईको पाँचौं विकेट गुमेको थियो । नमन धिरले ६ बलमा १७ रन बनाउँदा नेहाल बडेहराले ३ रन बनाए भने तिलक बर्मा १७ बलमा ३२ रन बनाएर आउट भए । मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३९ रनमा रोकिन पुग्दा १८ रनले पराजित भयो । कोलकातालाई जित दिलाउन हर्सित राणा, बरुण चक्रवर्ती र आन्द्रे रसेलले समान दुई –दुई विकेट लिए । यस्तै, सुनिल नारायणको नाममा एक विकेट रह्यो ।

आइपीएलमा आज २ खेल हुनेछन् । पौने ४ बजे चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स भिड्दा राति पौने ८ बजे रोयल च्यालेन्जर्स बेंग्लुरु र दिल्ली क्यापिटल्स आमने सामने हुने छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *