असुरक्षित वैदेशिक रोजगार

Share this news:

वैशाख ३१, २०८१ । वैदेशिक रोजगारीका क्रममा यस वर्ष कास्कीका २२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै, १५ जना अंगभंग तथा बिरामी परे ।

वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभाग तथा आप्रवासी स्रोत केन्द्रहरूको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको नौ महिनामा कास्कीका २२ जनाले ज्यान गुमाएका हुन् । यसैगरी, १५ जना अंगभंग तथा बिरामी परेका हुन् । उनीहरू सबै पुरुष हुन् ।

प्रतिवेदनअनुसार वैदेशिक रोजगारीका क्रममा गण्डकीका ११ मध्ये नवलपुरका सबैभन्दा बढी मानिसले ज्यान गुमाएका छन् । दोस्रो बागलुङ हो भने कास्की तेस्रोमा पर्छ ।

गत आव २०७९–८० मा मुलुकभरबाट विदेश गएकामध्ये १ हजार २ सय ८ जनाको मृत्यु भएको थियो । त्यसबेला ३ सय ३५ जना अंगभंग भएका थिए ।

गत आव २०७९–८० मा ७ लाख ७१ हजारले श्रम स्वीकृति लिएका थिए । चालू आवको चैतसम्म गण्डकीबाट १ लाख ६ हजार ४४ जना वैदेशिक रोजगारीका लागि गएका छन् । तीमध्ये महिला १० हजार ७ सय २ जना छन् । यस अवधिमा कास्कीका १२ हजार ३ सय ३४ जना वैदेशिक रोजगारीमा गए । तीमध्ये १ हजार ६ सय ९२ महिला हुन् । गण्डकीबाट वैदेशिक रोजगारीमा जाने महिलामा कास्कीका सबैभन्दा बढी छन् ।

गण्डकीबाट वैदेशिक रोजगारीमा सबैभन्दा बढी जाने जिल्ला तनहुँ हो । तनहुँबाट यसपालि १६ हजार ७ सय ९७ जना वैदेशिक रोजगारीमा गएकामा महिलाको संख्या १ हजार ५ सय १९ छ । त्यसपछि स्याङ्जाका १५ हजार ८ सय ९६ जना गएकामा महिला १ हजार ४ सय ५ जना छन् ।

तेस्रोमा बागलुङ पर्छ । बागलुङबाट यसपालि वैदेशिक रोजगारीका लागि १३ हजार ७ सय ९७ जना विदेश गएकामा महिला १ हजार १ सय ४ जना छन् । प्रदेशका ११ जिल्लामध्ये वैदेशिक रोजगारीमा जाने कास्की चौथोमा पर्छ । सबैभन्दा कम मनाङबाट २ सय २४ जना वैदेशिक रोजगारीमा गएका छन् ।

वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शिव रेग्मीले अघिल्लो आव २०७९–८० मा वैदेशिक रोजगारीमा गएका भन्दा चालू आवको नौ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या धेरै रहेको बताए ।

उनका अनुसार हाल १ सय ११ राष्ट्रमा श्रम आप्रवासनका लागि संस्थागत रूपमा खुला गरिएको छ । नेपाली पुरुषका लागि सबैभन्दा मुख्य गन्तव्य मलेसिया हो भने महिलाको मुख्य गन्तव्य यूएई हो । पछिल्लो समय महिलाहरू युरोपिन मुलुकहरू माल्टा, साइप्रस, रोमानिया, क्रोएसियालगायतमा जाने प्रचलन बढी छ ।

बीएलए–एमओयू भएका राष्ट्रहरू हालसम्म १२ मात्र छन् । ती हुन् कतार, जोर्डन, यूएई, रिपलिब्लक अफ कोरिया, बहराइन, इजरायल, मलेसिया, मौरिसस, बेलायत, रोमानिया, जापान र जर्मन । नेपालबाट गत चैतसम्म ५ लाख ३९ हजार मानिस वैदेशिक रोजगारीमा गए । अघिल्लो आवमा १ हजार २ सय ८ जनाको मृत्यु भयो भने ३ सय ३५ जना अंगभंग भए । यसैगरी, विप्रेषण १२ खर्ब २० अर्ब ५६ करोड भित्रिएको छ ।

सो विप्रेषणले नेपालको कुल गार्हस्थ उत्पादनमा २३ दशमलव ६८ प्रतिशत योगदान दिएको पाइन्छ । वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार अर्धदक्ष र अदक्ष हुनु, जोखिमपूर्ण काम गर्नुपर्ने बाध्यता, गन्तव्य मुलुकको हावापानी, नियम कानुन, काम गर्ने वातावरण, संस्कृति’दयगत ज्ञान नहुनु, नयाँ गन्तव्य मुलुकतर्फ आकर्षण बढ्नु, ठगी तथा अलपत्र पर्नुका साथै कानुनी सहायताका लागि प्रमाण नहुनु, स्वदेशमै लगानी र व्यवसायभन्दा वैदेशिक रोजगारीको खोजीमा युवा जनशक्ति पलायन हुनु प्रमुख चुनौती हुन् ।

नेपालीका लागि सबैभन्दा बढी नेपाली रहेको गन्तव्य मुलुक मलेसिया हो । त्यसपछि क्रमशः यूएई, कतार, साउदी अरब, कुवेत, कोरिया, रोमानिया, जापान, बहराइन र क्रोएसिया हुन् । महिला श्रमिकका लागि सबैभन्दा बढी गएको मुलुक यूएईसहित कुवेत, मलेसिया, कतार, साइप्रस, रोमानियालगायत हुन् ।

सन् २०२३ मा ८ लाख ८ हजार जनाले नेपाल छाडेका थिए । भ्रमण तथा तीर्थाटनका लागि २ लाख ४ हजार, परिवार नाता भेटघाटका लागि १ लाख ६७ हजार, अध्ययनका लागि १ लाख ८५ हजारले स्वदेश छाडेका थिए ।

वैदेशिक रोजगारीमा सबैभन्दा ठूलो समस्या ठगी भएको पाइएको छ । त्यसको मूल कारण हो, अवैध रूपमा सञ्चालित म्यानपावर । हाल मुलुकभर ९ सय ७२ म्यानपावर कम्पनी सञ्चालित छन् । तीमध्ये केहीलाई ७७ वटै जिल्लामा गरी ३२ वटा शाखा चलाउने स्वीकृति वैदेशिक रोजगार विभागले दिएको छ । तर, सहर बजारमा स्वीकृतिबिनै म्यानपावर कम्पनीका शाखा कार्यालय छ्यापछ्याप्ती भेटिन्छन् ।

चालू आवमा हालसम्म कास्कीमा वैदेशिक रोजगारसम्बन्धी १ सय ९१ समस्या तथा मुद्दामध्ये ७२ वटा मुद्दा सामी परियोजनाले समाधान गरिसकेको छ । ठगीसम्बन्धी १ सय ४० मध्ये २७ समाधान भएका छन् । सामीले ४ वर्षयता ६ सय ६५ समस्या तथा मुद्दामा ३ सय ३७ समाधान गरेको र १२ करोड १६ लाख ५४ हजार क्षतिपूर्ति दिलाइसकेको जनायो । सामीले वैदेशिक रोजगारीलाई कसरी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने भनी काम गरिरहेको छ । यो खबर राजधानीबाट लिएका हौ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *