तराईमा बाढी र पहाडमा पहिरोले नौ जनाको मृत्यु

Share this news:


असार १५, २०८१ । अविरल वर्षासँगै तराईमा बाढी र पहाडमा पहिरोको कहर सुरु भएको छ । बाढि र पहिरोको कारण वितेको २४ घण्टामा मात्र सयौं जना विस्थापित भएका छन् भने नौ जनाको मृत्यु् भएको छ ।

अविरल वर्षाका कारण गुल्मीको मालिका गाउँपालिका–६ कडेलपाटा बस्ने ५५ वर्षीय भेष बहादुर कामीको घर गएराति माथिबाट ढुङ्गा, माटोसहितको पहिरो आई पुरिँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

पहिरोमा पुरिएर भेष बहादुर कामी, उनकै श्रीमती ४८ वर्षीया सुन्तली कामी, बुहारी २६ वर्षीया सिता बिक, नातिनीहरू ८ वर्षीया सपना बिक र ८ महिनाको बिपना बिकको मृत्यु भएको हो ।

पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय गुल्मी र प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो ।

स्याङजा, अविरल वर्षाको कारण फेदीखोला गाउँपालिका–५ बाँगे बस्ने दुर्गा जिटीको घर र गोठ पहिरोले पुरिँदा एकै परिवारका आमा छोरीको शुक्रबार राति मृत्यु भएको छ । पहिरोले पुरिएर घरमा सुतिरहेकी ३१ वर्षीया दुर्गा जिटी र उनकै छोरी ३ वर्षीया निसिका जिटीको घटनास्थलमै मृत्यु भएको हो ।

बागलुङ, अविरल वर्षाको कारण गल्कोट नगरपालिका–८ बिसौना बस्ने ५५ वर्षीय प्रेम बिकको घर पहिरोले पुरिँदा विक र उनकै श्रीमती ५० वर्षीया बसन्ती विकको शनिबार बिहान मृत्यु भएको छ ।

पहिरोले घर पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हटिया र इलाका प्रहरी कार्यालय गल्कोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।

पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *