संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भयो : चित्रबहादुर केसी

Sharing is caring!

माघ २४, २०८० । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता बोक्नेहरुलाई पनि प्रदेश बोझ भएको बताएका छन् । प्रतिनिधि सभामा बुधबार उनले अहिले यो प्रणाली नै चाहिदैन भन्ने खालको संकट देखिएको भन्दै यसमा ध्यान दिनुपर्ने बताए ।

उनले भने, ‘अब अहिले देखिएको ठूलो संकट भनेको यो प्रणाली नै चाहिदैन, यसलाई खारेज गर्नुपर्छ भन्ने हो । राष्ट्रिय जनमोर्चाले भनेको यो मुलुकलाई संघमा नलैजाउँ, मुलुक सानो छ । संघ र स्थानीय तह भए पुग्छ भनेर कुरा राख्यो अहिले प्रदेश त बोझ भएको छ । सबैलाई भएको छ । संघीयता बोक्नेहरुलाई पनि भएको छ ।’ उनले प्रदेश दलका नेता, कार्यकर्ता थन्क्याउने ठाउँ भएको भन्दै यसमा सबै मिलेर छलफल गर्न आवश्यक भएको बताए ।

उनले भने, ‘म सुझाव दिन्छु हामी सल्लाह गरौं । हामीले ल्याएको यो तीन व्यवस्था संघ भएपछि प्रदेश किन चाहियो ? फाइदा भने भएको छ, दलका नेता, कार्यकर्ता थन्काउनलाई ठाउँ भएको छ । तर यसले आर्थिक अवस्था चौपट भएको छ ।’ संसद्को मुख्य काम नीतिनियम बनाउने भए पनि व्यवहारमा लागू हुन नसकेको उनको भनाइ छ ।

उनले भने, ‘संसदको मुख्य काम नीतिनियम बनाउने हो । सांसदहरु विकासका एजेन्ट भएका छौं । काम भने नियमकानुन बनाउने, अर्कोतिर विकासका कामका ठेकेदार, ठेकापट्टा हाम्रो जिम्मा । हाम्रो काम नियमकानुन मात्र बनाउने हो, यो कुरा व्यवहारमा लागू भएको छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *