जनतासँग नङ र मासुजस्तो सम्बन्ध भएको पार्टीका रुपमा विकास गरौं : अध्यक्ष नेपाल

Sharing is caring!

पुस ११, २०८० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीलाई जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीका रुपमा विकास गर्ने बताएका छन् । ललितपुरमा जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधनगर्दै उनले यस्तो बताएका हुन् ।

जनताबाट टाढिने हो भने अस्वीकृत हुनुपर्ने अवस्था आउने भन्दै उनले भने, ‘जनतासँग नङ् र मासु जसरी जोडिएको पार्टीको रुपमा पार्टीलाई विकास गर्न चाहन्छु । पार्टीमा हुनुपर्ने विशेषताको सन्दर्भमा जनतासँग नजिकीने विचार आएको हो । जनताबाट टाढिने हो भने जनताले अस्वीकार गर्छन् । त्यो भनेको निर्वाचनमा भोट नहाल्नु हो ।’

चुनौतीका बीचमा आफूहरु अलग रुपमा आएको भन्दै नेपालले भने, ‘हाम्रो पार्टीलाई कमजोर नठान्नु, चुनौतीको बीचमा हामी आएका छौं र सातैवटा प्रदेशमा हाम्रो राम्रो उपस्थिति छ ।’

जनताको बीचमा नजानु र पदका लागि बाझ्नु तर पदअनुसार जिम्मेवारी पूरा नगर्नु जस्ता कमजोरी पार्टी र नेताहरुको हाम्रो सबैभन्दा ठूलो समस्या भएको उनले बताए ।

कम्युनिष्ट पार्टी २००६ सालमा स्थापित भएको उल्ल्ेख गर्दै नेपालले त्यसको उत्तराधिकारी आफूहरु भएको दाबी गरे । ‘विभिन्न बेलामा यस्ता समस्याहरु आएका छन्, जतिखेर हामीले नयाँ क्रान्तिकारी धारलाई समात्दै भइरहेको पार्टीबाट विद्रोह गरेर नयाँ पार्टी बनाउन परेको थियो’ उनले भने ।

प्रतिक्रियावाद, राजतन्त्र, पञ्चायती तानाशाहीको विरुद्धमा संघर्षको अग्रपङ्तिमा उभिएर महत्वपूर्ण भूमिका खेल्दै आएको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस्तो भूमिकाको कारणले राष्ट्रिय राजनीतिमा आफूहरुको छुट्टै पहिचान स्थापित भएको बताए ।

उनले भने, ‘अरुलाई पनि हामीले आफूमा समेट्दै गयौं, यही क्रममा २०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा मार्क्सवादीहरुको बीचमा एकता भएर नेकपा एमाले बनायौं । राष्ट्रिय राजनीतिमा त्यसले तरङ्ग पैदा गर्यो, भूमिका प्रभावकारी पनि भयो ।’

सरकारले जनताले चाहे अनुसारको परिणाम दिन नसकिरहेको भन्दै नेपालले त्यसको कारण खोजेर सुधारमा लाग्नु पर्नेमा जोड दिए ।

‘यसमा प्रधानमन्त्रीले नयाँ तरिकाले जानको लागि आवश्यक काम गर्न तयार छु भन्नु भएको छ’ उनले भने, ‘गर्नुहोस् हाम्रो शुभकामना छ र सहयोग पनि रहने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *