हच्किए वामदेव

Sharing is caring!

असोज २६, २०७५ । चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन्। पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन्।

उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन्। ‘समय, परिस्थिति र भूगोल छनौट पनि उपयुक्त नभएको, चुनावमा लड्ने योजनाले पार्टी र स्वंम वामदेवमाथि आक्रमण तीव्र भएकोले अब उहाँ प्रतिनिधिसभामा जाने विषयमै पुनर्विचारको अवस्थामा पुग्नुभएको छ’, गौतम निकट एक नेताले अन्नपूर्णसँग भने, ‘उहाँले अब वक्तव्यमार्फत आफ्ना कुरा सार्वजनिक गर्नुहुन्छ।’

पार्टी एकताको सुत्रधार आफू प्रतिनिधिसभामा नुहँदा संसद् र सरकारको काम प्रभावकारी बन्न नसकेको भन्दै गौतमले सांसद् प्रवेशलाई महत्व दिएका थिए। संसद् प्रवेशको उनको चाहलाई पार्टीभित्रै धेरै नेताले ‘शंका’ को दृष्टिले हेरेका छन्।

आफू प्रतिनिधिसभा पुग्नका लागि गौतमले पार्टी सांसदलाई राजीनामा गराउने प्रयत्नमा धेरै अघिदेखि लागे पनि कतै सफल भएका थिएनन्। काठमाडौं ७ का सांसद रामवीर मानन्धरले ठाउँ छाड्न तयार भएपछि गौतम निक्कै उत्साहित देखिएका थिए। तर बुधबारबाट भने उनी काठमाडौं ७ मा चुनाव लडने योजनाबाट हच्किएका छन्।

पार्टी शीर्ष नेताकै असहयोग हुनसक्ने, वागी उम्मेदवार खडा गर्न सक्ने र बर्दिया चुनावमा जसले हराउन भूमिका खेले उनैले अघोषित विरोधी गठबन्धन बनाउन सक्ने देखेपछि उनी पछि हटने निष्र्कषमा पुगेका हुन्। गौतम निकट स्रोत भन्छ, ‘पार्टीभित्रै घेराबन्दी हुने देखेपछि उहाँ पछि हट्ने मनस्थितिमा पुग्नुभएको हो।’

पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, नेताहरू घनश्याम भुषाललगायतसँगको परामर्शपछि गौतम चुनावबाट पछि हटने मनस्थितिमा पुगेको स्रोतले दाबी गरेको छ। ‘सांसद मानन्धरको राजीनामा दिने कुरा प्रक्रियागत रूपमा मिलेन, परिस्थिति पनि बढीनै नकारात्मक ढंगबाट अगाडि बढिदियो, यस्तो बेला उहाँका लागि सहजता हुन सक्दैन भन्ने सझुाव आयो’, गौतम निकट ति नेताले भने।

महासचिव विष्णु पौडेलले गौतमलाई भेटेर अवस्था अनुकुल नरहेकोले उपचुनाव लडने कुरामै पुनर्विचार गर्न सुझाएका छन्। अध्यक्ष पुष्पकमल दाहालले सिट गुम्ने अवस्थामा पार्टीले उपचुनावको निर्णय नलिने बताइसकेका छन्।

गौतम पत्नी तुलसा थापाले भने यो विषयमा पार्टी निर्णय कुरेर बसेको बताएकी छन्। ‘बर्दिया चुनावको परिणामपछि उहाँले पार्टीमा मैले के गर्ने, जिम्मेवारी के हुने भनेर कुरा उठाउनु भयो होला, त्यसपछि यी कुराहरू आइरहेका हुन्। पार्टीले के निर्णय गर्छ त्यसपछि नै अरु कुरा हुन्छन्’, प्रतिनिधिसभा सांसदसमेत रहेकी वामदेव पत्नी तुलसाले भनिन्।

गत प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घातका कारण आफू पराजित भएको भन्दै गौतमले बहालवाला सांसदलाई राजीनामा गराई प्रतिनिधिसभामा छिर्ने योजना बुनेका थिए। सुरुमा वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपालमध्येबाट एक जनालाई राष्ट्रपतिमा पठाएर उनीहरू निर्वाचित भएको क्षेत्रमा हुने उपचुनावबाट गौतमले संसद्मा छिर्ने प्रयास गरेका थिए। यो योजना सफल नभएपछि गौतम सुरक्षित स्थानको खोजी गर्दै बर्दिया-२ का सन्तकुमार थारु, पूर्वी रुकुमकी कमला रोक्का, नवलपुर २ का तिलक महत, दैलेख-१ का रवीन्द्रराज शर्मा, मुगुका गोपाल बम, दैलेखका राजबहादुर बुढा, सुर्खेतका नवराज राउत, डोल्पाका धनबहादुर बुढासम्म पुगे। तर यी सबै प्रयास असफल भए।

गौतमका लागि अनुकुल निर्वाचन क्षेत्र खोज्न महासचिव विष्णु पौडेलले पनि सघाउने प्रयत्न गरे। महासचिव पौडेलले त्यसका लागि धनकुटाका राजेन्द्र राई र बाँके ३ का नन्दलाल रोकायासँग छलफल पनि गरे। बैतडीका दामोदर भण्डारी, कञ्चनपुर-३ का दीपकप्रकाश भट्ट, प्यूठानकी राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलसम्मलाई राजीनाको प्रयास भएको थियो।यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *