स्थानीय तहमा थप ७५ सय कर्मचारी आवश्यक

Sharing is caring!

वैशाख २५, २०७५ । देशभरका ७ सय ५३ स्थानीय तहमा सहसचिवदेखि सुब्बासम्म पदका ७ हजार ५ सय अप्राविधिक कर्मचारीको दरबन्दी रिक्त छ । स्थानीय तहको स्वीकृत कर्मचारी संगठन संरचनाअनुसार १८ हजार ३४ अप्राविधिक कर्मचारीको दरबन्दी रहेकोमा १० हजार ५ सय ३४ कर्मचारीले मात्रै प्रशासनिक काम सञ्चालन गरिरहेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको रिक्त दरबन्दी विवरण संकलन गरेको हो।
स्थानीय तहहरूबाट प्राप्त विवरणमा प्राविधिकबाहेक मात्रै ७ हजार ५ सय कर्मचारीको दरबन्दी रिक्त रहेको पाइएको हो। स्थानीय तहमा कर्मचारी खटाउने मापदण्ड २०७४ जारी गरी कर्मचारी खटाउने तयारी भइरहेको छ।
संगठन संरचनाअनुसार प्राविधिक र अप्राविधिक गरी स्थानीय तहहरूमा ३७ हजार २ सय ५७ कर्मचारी आवश्यक पर्छन्। मन्त्रालयका अनुसार, प्राविधिकतर्फका खटिएका र खटिन बाँकी कर्मचारीहरूको विवरण संकलनकै क्रममा छ।
जनसंख्याका आधारमा स्थानीय तहहरूलाई ९ भागमा वर्गीकरण गरी कर्मचारी पठाउन लागिएको हो। उक्त संरचनाअनुसार स्थानीय तहहरूमा सचिवदेखि खरिदारस्तरका कर्मचारी खटिनेछन्।
काठमाडौं महानगरपालिकामा कामु सचिव यादव कोइरालाले प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन्। काठमाडौं महानगरमा २ सहसचिवको दरबन्दी रिक्त छ।
अन्य ५ महानगर र ११ उपमहानगरपालिकामा गरी १८ सहसचिवको दरबन्दीमध्ये १५ पद खाली छ। ५ महानगरमध्ये ३ वटामा मात्रै सहसचिव स्तरका कर्मचारीले नेतृत्व गरेका छन्। ११ वटै उपमहानगरपालिकामा सहसचिवको दरबन्दी खाली छ।
स्थानीय तहहरूमा सबैभन्दा वडासचिवको दरबन्दी रिक्त छ। संगठन संरचनाअनुसार खरिदार पदका कर्मचारी आवश्यकताभन्दा बढी खटिएका छन्। ३ हजार २ सय ७९ खरिदारको दरबन्दी रहे पनि २ हजार २ सय ८८ जना बढी खटिएका हुन्।
बढी खटिएका खरिदारले रिक्त रहेको सुब्बा पदको काम गरिरहेको मन्त्रालयको स्थानीय तह कर्मचारी व्यवस्थापन शाखाले जनाएको छ। १२ हजार ९ सय ६४ सुब्बा पदको दरबन्दीमध्ये ९ हजार ९२ पद रिक्त छ। सबैभन्दा बढी सुब्बा पदको दरबन्दी रिक्त छ।
आठौं र सातौँ तहका ४ सय ५९ अधिकृतको पद रिक्त छ। १ हजार २ सय ३३ अधिकृत दरबन्दीमध्ये ७ सय ७४ अधिकृत मात्रै स्थानीय तहमा काम गरिरहेका छन्। २ सय २२ उपसचिव पनि स्थानीय तहमा आवश्यक रहेको शाखाले जनाएको छ। ५ सय २१ उपसचिवको दरबन्दीमध्ये २ सय ९९ जना मात्रै खटिएका छन्।
स्थानीय तहमा जान चाहने कर्मचारीसँग आवेदन मागेर रिक्त पदहरू पूर्ति गर्न लागिएको मन्त्रालयका सहायक प्रवक्ता प्रेमप्रसाद लुइँटेलले बताए। जिल्ला/जिल्लामा संकलन गरिएको आवेदन मन्त्रालय आएलगत्तै रुजु गरी कर्मचारी पठाइने उनले जनाए।
निवेदन दिने कर्मचारीहरू स्थानीय तहमा जान चाहने कर्मचारीभन्दा यसअघि नै नगरपालिका र गाउँपालिकामा खटिसकेका कर्मचारी छन्।
उनीहरू खटिएकोभन्दा आकर्षक स्थानीय तहमा जान आवेदन दर्ता गरेका हुन्। स्थानीय तहमा जान कर्मचारीले उत्साहजनक आवेदन नदिएको पाइएको हो। अन्तरमन्त्रालयबाट खटिने प्राविधिक कर्मचारीको विवरण पनि संकलन भइरहेको लुइँटेलको भनाइ छ।
स्थानीय तहमा अप्राविधिक धारका कर्मचारीको रिक्त पदपूर्ति गर्न तत्काल ७ हजार ५ सय थप कर्मचारी खटाउन आवश्यक देखिएको हो।यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *