सरकारलाई सचेत गराउने बेला भयो: प्रचण्ड

Sharing is caring!

भदौ २०, २०७५ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको जनताको हित अनुसार नै छिमेकी देश भारत र चीनको भ्र्रमण गर्न लागेको बताउनुभएको छ । उहाँले छिमेकी देशसँगको सम्बन्ध अझ मजबुत बनाउनकालागि आफू भारत चीन जान लागेको दावी गर्नुभएको छ ।

भारत र चीन भ्रमणको क्रममा देशको हितलाई केन्द्रमा राखेर गम्भीर कुराकानी गर्ने बताउदै अध्यक्ष प्रचण्डले भन्नुभयो–भ्रमणमा राष्ट्रहित र विकास निर्माणलाई प्राथमिकता राखेर कुरा गर्ने मेरोे प्रमुख एजेण्डा रहने छ । उहाँले भारत भ्रमणको विषयलाई लिएर कुनै पनि आशंका नगर्न पनि आग्रह गर्नुभयो । भारतबाट फर्र्किपछि आफू चीन जाने पनि उहाँले जानकारी दिनुभयो ।

नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले त्यसका लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताउदै दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा आफ्नो भ्रमण केन्द्रीत रहेको बताउनुभयो ।

त्यसैगरी उहाँले सरकारको कार्यशैलीको समीक्षा गम्भीर रुपमा सुरु भएको बताउदै सरकारलाई सफल बनाउनका लागि दुई अध्यक्षबीच गम्भीर छलफल भइरहेको बताउनुभयो ।

आफ्नै निवास खुमलटारमा मंगलवार पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नागरिकहरुको चाहना र भावना अनुसार सरकारको समिक्षा सुरु गरिएको बताउनुभयो । दुई अध्यक्षको बीचमा सरकार सञ्चालन र पार्टी एकताको बाँकी टुंगो लाग्न विषयमा छलफल भइरहेको जानकारी दिदै प्रचण्डले भन्नुभयो–भदौ महिनाभित्र पार्टीको प्रदेश, जिल्ला कमिटी लगायतका सबै संगठनको एकता प्रक्रियाको टुंगो लाग्छ ।’

संघीयतालाई संस्थागत गर्ने विषयमा आफू चिन्तित रहेको बताउदै उहाँले संघीयता नयाँ भएकाले केही समस्या सृजना हुनु स्वभाविक भएको बताउनुभयो । ‘हिजो राजनीतिक मुद्दाको मात्र डिवेट थियो, अहिले अधिकारकाको विषयलाई लिएर गम्भिर डिवेट भएका छन’,अध्यक्ष प्रचण्डले भन्नुभयो ।

स्थानीय तहमा विकास निर्माणको लहर चलेको उल्लेख गर्दै उहाँले केही स्थानीय तहमा भएको भनिएको अनियमितको बारेमा समयमा नै उचित कदम चालेर नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।

अनावश्यक करको बोझ थप्न नहुनेमा सरकार सचेत रहेको बताउदै अध्यक्ष प्रचण्डले भन्नुभयो–सरकारले धनीलाई छुट र गरिबलाई कर थप्ने होइन, कर तिर्ने वाली बसाल्नु पर्छ, सरकारले नीति, कानुन र सुरक्षा दिएपछि व्यवसायीहरुले पनि कर तिर्नु पर्छ ।’ विकास निर्माणको चरणमा देश रहेकाले देश निर्माणको क्रममा कर नछली व्यवसायीहरुले कर तिर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

देशभर महिला हिंसा र वलात्कारको घटना घट्ने क्रम बढेकोप्रति चिन्ता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो–‘हाम्रो समाज कतातिर जादैछ, यो विषयमा सबै गम्भीर हुने बेला आएको छ ।’

सरकार र संरचनाबारे पुरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेको बताउदै अहिले विश्लेषणसम्म गर्न ठिक भएपनि संश्लेषण नै गर्ने अवस्थामा नआएको दावी गर्नुभयो । अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय सांस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता समेत व्यक्त गर्दै समाजको नैतिक मूल्य विचलन भएको त हैन भन्ने प्रश्न समेत गर्नुभयो ।

हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ, प्रचण्डले भन्नुभयो ।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *