सबैका आँखा सिङ्गापुरतिर

Sharing is caring!

जेठ २६, २०७५ । शुक्रबार क्यानाडाका लागि प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पत्रकारहरुले ह्वाइट हाउसमा सोधे— तपाईँको सिङ्गापुर बसाई कति लामो हुन्छ ? राष्ट्रपति ट्रम्पको जवाफ थियो— किमसँगको वार्ता कस्तो हुन्छ, त्यसमा भरपर्छ ।

राष्ट्रपति ट्रम्प जि७ को बैठकका लागि शुक्रबार क्यानाडा जाने तयारीमा हुनुहुन्थ्यो । उहाँ त्यतैबाट सिङ्गापुर जाने कार्यक्रम छ । उहाँले भन्नुभयो, म त्यतैबाट सिङ्गापुर जान्छु तर सिङ्गापुरमा बसाई कति दिन लम्बिन्छ भन्ने कुरा जुन १२ को पहिलो वार्तापछि मात्र थाहा हुन्छ । उहाँको भनाई थियो— हामी फोटो खिचेर मात्र फर्किन पनि सक्छौँ र एक दुई दिन वार्तामा बस्न पनि सक्छौँ । यो सबै कुरा मङ्गलबारको पहिलो बसाईले निर्धारण गर्नेछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच यही जुन १२ अर्थात् आगामी मङ्गलबार सिङ्गापुरमा भेटवार्ता हुदैछ । अहिले त्यसको तयारीमा दुवै देश जुटेको बताइएको छ । सिङ्गापुर वार्ताको अन्तिम तयारी सकिएको जानकारी उक्त देशले दिइसकेको छ । उता उत्तर कोरियाले पनि आफूहरुले उक्त वार्ताका लागि आवश्यक सबै तयारी पूरा गरेको जानकारी दिएको छ ।

शिखर वार्ता नाम दिइएको यस अभूतपूर्व बैठकमा के हुन्छ भन्ने नै अहिले विश्वमा चर्चा छ । विश्वका राजनीतिक तथा विदेश मामिला विश्लेषकहरुले सिङ्गापुर वार्ताका विपक्षमा खासै स्तम्भ (बिचार) लेखेका छैनन् । यसले कोरियाली प्रायद्धीप मात्र नभएर विश्वमा नै सकारात्मक प्रभाव पार्ने पक्षमा उनीहरुका विचार आएका छन् । उता विश्वका कैयौँ देशका पत्रकारहरु यतिखेर सुन्दर देश सिङ्गापुर जम्मा भएका छन् । यसमा सबैभन्दा धेरै अमेरिकी छन् । त्यसो त यो सानो शहरमा केही दिन अघिदेखि नै पत्रकारहरुले होटल बुकिङ गरेका थिए । अनि यस ऐतिहासिक घटनाको प्रत्यक्ष अवलोकनका लागि स्वतस्फुर्त रुपमा पनि विश्वका राजनीतिक र कूटनीतिक विश्लेषक र जानकारहरु पनि त्यहाँ पुगेका छन् ।

सबैभन्दा धेरै चासो फोटो पत्रकारलाई छ । क्यामेरा राख्ने ठाउँ, पत्रकार सम्मेलन स्थल, ट्रम्प र किम वार्तास्थलमा प्रवेश गर्ने र बाहिर निस्किने द्धार तथा स्थान र यस विषयका अरु ऐतिहासिक क्षणलाई आफ्नो क्यामेरामा कैँदगर्न र विश्वभर त्यस वार्ताको ‘कन्टेन्ट’ र भावना फैलाउन सञ्चारमाध्यमका प्रतिनिधिहरुले सानो र सुन्दर देश सिङ्गापुरमा होटलहरु बुुकिङ गर्ने काम गरिरहेका छन् । विगतका कैयौँ दशकसम्म पनि विश्व समुदायबाट लगभग अलग्गिएर रहेको देश उत्तर कोरियामा आएको यस परिवर्तनले विश्वलाई नै चकित पारेको छ ।

गत अप्रिल २७ मा दुई कोरियाबीच ऐतिहासिक भेटवार्ता भयो । उत्तर कोरियाली सर्वाेच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच भएको सो भेटवार्ताले नयाँ आशाको सञ्चार गरेको थियो । अकस्मात र अभूतपूर्व सो वार्तामा ऐतिहासिक सम्झौता पनि भयो । यसैले नै अमेरिका र उत्तर कोरियाबीच वार्ताको मार्ग प्रशस्त गरेको हो । दक्षिण कोरियालाई मात्र नभएर उत्तर कोरियाप्रति अमेरिकाको पनि विश्वास बढाएको छ । आणविक अस्त्र उत्पादन नगर्ने, परीक्षणस्थल भत्काउने शर्त अमेरिकाले राखेको थियो । जुन उत्तरले पूरा गरेको छ । उसले अमेरिकासहितकै पत्रकारलाई उपस्थित गराएर परीक्षणस्थल भत्कायो । यसले पनि सिङ्गापुर वार्ताको वातावरण सकारात्मक बनाएको छ ।

आणविक अस्त्रको भाषाले छिमेकी थर्काउने गरेको उत्तर कोरियाका नेता अहिले वार्ताका लागि तयार भएका पछिल्ला अभिव्यक्तिहरुले विश्वलाई नै चकित पारेको छ । आणविक परीक्षण गर्दा विश्वले एक्लाउने र तीब्र आलोचना गर्ने गरेको भए पनि अहिले उहाँको प्रसंशा भएको छ । दुई हप्ताअघि राष्ट्रपति ट्रम्पले अहिलेको लागि वार्ता स्थगित भएको अभिव्यक्ति दिए पनि उत्तर कोरियाली नेता किमले भने उत्तर कोरिया जुन सुकै समय वार्ताप्रति तयार रहेको बताएबाट विश्वलाई नै सकारात्मक उर्जा मिलेको थियो । त्यसै उर्जाले आज अमेरिका र उत्तर कोरियालाई सिङ्गापुरसम्म पुर्याएको छ ।

यतिखेर आइपुग्दा लगभग विश्वकै आँखा सिङ्गापुरतर्फ सोझिएका छन् । सिङ्गापुर वार्ताको प्रतिफल के निस्किएला भन्नेमा धेरैको चासो छ । वार्ताको पर्खाइमा दुई कोरियाली नागरिक बढी देखिन्छन् । जापानको झन कुरै भएन । किनभने छ महिनाअघि उत्तर कोरियाले गरेको आणविक परीक्षणको छिर्काले जापानलाई पनि हानेको थियो । त्यसो त त्यस परीक्षणले कोरियाली प्रायद्धीपमा ६ रेक्टर स्केलको भूकम्प नै ल्याएको थियो । त्यसैले पनि सिङ्गापुर वार्ताले सबैलाई सुखद सन्देश दिन सकोस् भन्ने अपेक्षा सबैको छ । यसरी दुई दिनपछिको वार्तामा विश्वको चासो झन बढी जोडिएको छ ।

यो वार्ताले उत्तर कोरिया या अमेरिका कस्लाई के फाइदा भयो भन्ने बहस अलग्गै छ । यसले राष्ट्रपति ट्रम्पलाई अमेरिकी नागरिकले गर्ने गरेको कचकचमा केही सहजता थपेको महसुश गराएको छ । कहिले आफ्नो निर्वाचनमा रुसी हस्तक्षेपको विषय त कहिले इरानमाथिको पारमाणविक सम्झौता खारेजीजस्ता विषय उहाँको कार्यकालमा विवादित विषय हुन् । अमेरिकीहरु राष्ट्रपति ट्रम्पको विदेश नीतिको आलोचना गर्छन् । त्यसैले पनि उहाँले यस वार्ताबाट आफ्नो विदेश नीतिको जस केही मात्रामा भएपनि लिन चाहनुहुन्छ । कतिपय विश्लेषकहरु त उहाँले उत्तर दक्षिण कोरियालाई मिलाएर शान्ति स्थापनाको सही सन्देश दिने र नोवेल शान्ति पुरस्कारको दाबेदारका रुपमा आफूलाई उभ्याउने प्रयत्नमा ट्रम्प रहेको विश्लेषण पनि गर्ने गरेका छन् ।

उता उत्तर कोरियाले पनि विश्व समुदायमा आफ्नो उचाईँ बढेको महसुश गरेको छ । विश्व राजनीतिमा एक्लिएर र सबै प्रकारको नाकाबन्दी सहेर बसेको उत्तरका लागि अमेरिकासँगको विश्व चर्चित वार्ता एउटा ठूलो अवसर हो । साथै यस वार्ता अघि पनि उत्तर कोरियाका नेता किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग महिना दिनमा दुई पटक र चिनियाँ राष्ट्रपति सि चिनफिङसँग पनि दुई पटकसम्म गरेको भेटवार्तालाई पनि उत्तरले ठूलो उपलब्धिका रुपमा लिएको छ । यसरी उसले संसारमा आफ्नो उपस्थितिलाई महत्वको बनाउन सकेको परिचर्चा पनि उत्तर कोरियामा चलेको छ । यी र यस्तै अरु कैयौँ कारणले गर्दा विश्वमै लगभग असम्भव जस्तो ठानिएको यो अभूतपूर्व वार्तातर्फ विश्वको ध्यान पुगेको छ र यस वार्ताको परिणामको पर्र्खाइमा विश्व समुदाय नै रहेको छ । – एकराज पाठक –

Leave a Reply

Your email address will not be published. Required fields are marked *