कांग्रेसको संसदीय राजनीति दादागिरी शैलीको भयो : बर्तौला

Share this news:

जेठ ५, २०८१ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलालले सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले संसदमा गतिरोध आएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित युवा विचार गोष्ठी कार्यक्रममा उनले गुलियो चास्नीमा घुमिरहने झिंगा जस्तै सत्ताको वरिपरि कांग्रेस घुमिरहेको भन्दै त्यही कारणले आज संसद अगाडि बढ्न नसकेको बताए ।

उनले भने, ‘समग्रमा भन्नुपर्दा एउटै कारण गुलियो चास्नीमा फन् फनी घुमिरहने झिंगा जस्तै सत्ताको वरिपरि मात्र घुमिरहने कांग्रेसका प्रवृत्तिका कारणले गर्दा संसदमा गतिरोध आयो र आज संसद अगाडि बढ्न सकेन । सारमा कुरा यही नै हो । कांग्रेसमा राजनीतिक पूर्वाग्रह छ, मुलुकको समस्यालाई सम्मान गर्ने दिशातर्फ छैन । नीति तथा कार्यक्रम देशको महत्वपूर्ण विषयलाई छलफल गर्न नदिनेगरी अगाडि बढेको छ ।’

उनले देशलाई अस्थिरतातर्फ लाने प्रयत्नको फेरि पनि प्रायोजित षड्यन्त्रमा नेपाली कांग्रेस लागेको कुरा पनि प्रष्ट भएको बताए ।

कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन, संसदीय दादागिरीमा लान चाहन्छ भन्ने कुरा प्रष्ट भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘कांग्रेसका एक नेता जसले संसदमा अध्यक्ष(केपी ओली)माथि अशिष्ट व्यवहार प्रदर्शन गरे । त्यसैले कांग्रेस राजनीतिलाई इमानबाट निर्देशित होइन संसदीय मूल्य र मान्यताको जगबाट संसद चल्न होइन, दादागिरीमा लान चाहन्छ भन्ने कुरा पुष्टि हुन्छ ।’

संसद्मा जसरी उदण्ड प्रस्तुतिहरु प्रतिपक्षले देखाएको छ यसले संसदीय प्रणालीमाथि प्रश्नचिन्ह खडा हुने अवस्था निर्माण भएको पनि उनको भनाइ छ ।

उनले भने, ‘लोकतन्त्रको मसिहा ठान्ने, संसदीय राजनीतिको निकै लामो अनुभव छ भनेर दाबी राख्ने नेपाली कांग्रेसको लगातार संसद भित्रको अवरोधले गतिरोध आएको सबैलाई थाहा नै छ । नेपाली कांग्रेसको अरु कुनै उद्देश्य यसमा छैन । देशभरका सहकारीहरुमा आएको समस्याको समाधान गर्न एमाले पनि चाहन्छ ।

तर एक दुई वटामात्र सहकारीका छानबिन गर्ने उद्देश्य राखेर जसरी प्रमुख प्रतिपक्षका साथीहरुले उदण्ड प्रस्तुतिहरु उहाँहरुबाट भइरहेको छ, यसले संसदीय प्रणालीमाथि प्रश्न चिन्ह खडा हुने अवस्था निर्माण भएको छ ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *