राष्ट्रपति भण्डारी यूरोप जाँदै

Sharing is caring!

कात्तिक १८, २०७५ । आफ्नो दोस्रो कार्यकालको पहिलो विदेश भ्रमण पुरा गरी गत विहीवार कतारबाट स्वदेश फर्कनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारी आगामी एक महिनापछि यूरोप भ्रमणमा जाने तयारीमा जुट्नु भएको छ ।

भण्डारी आगामी मंसिर दोस्रो साता पोल्यान्ड भ्रमणमा जाने राष्ट्रपति कार्यालयले जनाएको छ । जलवायु परिर्वतन सम्बन्धी राष्ट्रसंघिय अन्तर्राष्ट्रिय सम्मेलनमा राष्ट्रपति भण्डारी सहभागी हुने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । दुई साता लामो राष्ट्रसंघिय २४ औं बार्षिक सम्मेलन आगामी मंसिर १६ देखि पोल्यान्डको काटोइसमा शुरु हुँदैछ ।

आयोजकले यसपटक अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई पनि निम्तो पठाएको छ । सरकारले राष्ट्रपतिको भ्रमणको औपचारिक निर्णय गर्न भने बाँकी छ । त्यस्तो निर्णय हुन बाँकी भएपनि भ्रमणबारे राष्ट्रपतिले चासो लिएसँगै यसबारेको तयारी अघि बढिरहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले नेपाल समाचारपत्रलाई जानकारी दिए । सम्मेलनमा नेपालले उठाउनुपर्ने एजेन्डा, विगतमा नेपालको सहभागिता, हालसम्म प्राप्त उपलब्धी जस्ता विषयमा राष्ट्रपति कार्यालयले वन तथा वातावरण मन्त्रालयसँग चासो लिएको बताइएको छ ।

राष्ट्रप्रमुखको सहभागितासँगै उहाँको सम्बोधनले विषयप्रतिको गम्भिरतासँगै नेपालको प्राथमिकता र एजेन्डाबारे अन्तर्राष्ट्रिय चासो झनै बढ्ने जलवायुविज्ञ मञ्जित ढकाल बताउनुहुन्छ । ‘जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको समस्या, विगतमा भएका प्रतिवद्धता कार्यान्वयनमा देखिएका कमीकमजोरी सहित नेपालको समेत स्पष्ट प्रतिवद्धता राष्ट्रपतिको सम्बोधनमा समेट्नु जरुरी छ’–अतिकम विकसित राष्ट्रहरुका प्रमुख सल्लाहकार समेत रहनु भएका उहाँले भन्नुभयो ।

सम्मेलन सचिवालयले यसअघि २००९मा डेनमार्कको कोपनहेगन र २०१५ पेरिस सम्मेलनमा सहभागी हुन राष्ट्रपति र प्रधानमन्त्रीलाई निम्तो पठाएको थियो । पेरिस सम्मेलनमा राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी नभएपनि कोपनहेगन सम्मेलनमा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनलाई सम्बोधन गर्नु भएको थियो ।यो खबर नेपाल समाचारपत्रबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *