मलेशियामा विषाक्त मदिरा सेवनबाट ६ को मृत्यु, १७ जनाको अवस्था गम्भीर

Sharing is caring!

असोज ३, २०७५ । मलेशियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या ६ पुगेको छ भने  १७ जना नेपाली गम्भीर बिरामी परेका छन् ।

कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलका अनुसार उनीहरु मलेशियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । बिरामी परेकाहरुलाई विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

मलेशियास्थित सुनगाई बुलोच अस्पतालमा उपचारका क्रममा पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो । सोही अस्पतालमा मदिरा सेवनबाट गम्भीर बिरामी परेका नौ नेपालीको उपचार भइरहेको छ । त्यस्तै काजङ अस्पतालमा पनि उपचारका क्रममा एक जनाको मृत्यु भएको छ । उक्त अस्पतालमा गम्भीर बिरामी पाँचको उपचार भइरहेको कार्यवाहक राजदूत खरेलले जानकारी दिनुभयो । व्याङटिङ, अमपाङ र क्लाङ अस्पतालमा एक-एक जनाको उपचार भइरहेको छ ।

मलेशियामा विषाक्त मदिरा सेवनबाट नेपालीको मृत्यु तथा घाइते भएको खबर सार्वजनिक भएलगत्तै त्यहाँस्थित नेपाली दूतावासले दुई टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिनुभयो । कावा राजदूत खरेलले मृत्यु भएका तथा गम्भीर अवस्थामा उपचाररत नेपालीको अवस्था बुझ्न अस्पताल पुग्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *