बीआरआई र इन्डो प्यासिफिक रणनीति: दुवैबाट लाभ लिन अस्ट्रेलियाको सुझाव

Sharing is caring!

जेठ २२, २०७६ । अस्ट्रेलियाले अमेरिकाको इन्डो प्यासिफिक रणनीति र चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) दुवैबाट फाइदा लिन नेपाललाई सुझाव दिएको छ। अस्ट्रेलिया इन्डोप्यासिफिक रणनीतिको मुख्य साझेदार हो। नेपालले बीआरआईमार्फत हिमालयन वारपार रेलमार्ग र सडक सञ्जाल जस्ता महत्त्वपूर्ण पूर्वाधारका योजना अघि बढाउन सक्ने अस्ट्रेलियाली राजदूत पिटर बडले बताए।

राजदूत बडले आफ्नै निवासमा मंगलबार केही पत्रकारसँग भने, ‘यस्ता परियोजना अघि बढाउँदा आर्थिक दिगोपन र लगानीको प्रतिफलका सम्बन्धमा पनि विचार गर्नुपर्छ।’ उनले इन्डोप्यासिफिक रणनीतिमा नेपालले धेरै लाभ लिन सक्ने भएकाले यसलाई अवसरका रूपमा लिनुपर्ने बताए। उनले भने, ‘बिआरआई सडक र रेलमा मात्र होइन, यो नेपालका अधिक विकास प्राथमिकतामा पर्न सक्छ।’ यसलाई राम्ररी अध्ययन गरेर अघि बढेमा नेपालले लाभ लिन सक्ने उनले बताए।

नेपालको विकासमा अस्ट्रेलियाले सहयोग र साझेदारीमा जोड दिएको उनले बताए। उनले भने, ‘कर्मचारी तहलाई बलियो र सक्षम बनाउन हामीले सहकार्य गरिरहेका छौं। स्थानीय तह, प्रदेश सरकारसँग पनि सहकार्य गरेर अघि बढ्न चाहन्छौं।’ नेपालमा अस्ट्रेलियाली लगानीकर्ता आउन तयार रहेको उनले जानकारी दिए।

नेपालको पर्यटन र कृषि पूर्वाधारमा लगानी गर्न सकिने अवस्था रहेको उनले बताए। उनले भने, ‘नेपालको भूराजनीति महत्त्वपूर्ण छ। दुवै छिमेकीले प्रगति गरिरहेको अवस्थामा नेपाल अघि बढ्न सक्छ।’ अस्ट्रेलिया चीनको व्यापार साझेदार हो भने अमेरिका रणनीतिक साझेदार हो। नेपालमा पछिल्लो समयमा अस्ट्रेलियाको चासो बढ्दै गएको छ। बड विभिन्न जिल्लामा घुम्ने राजदूतमध्येमा पर्छन्।यो खबर अन्नपूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *