ठेकेदारका कारण सरकारले गाली खाइरहनु परेको छ: सांसद महेश बस्नेत

Sharing is caring!

साउन २४, २०७६ । नेपालमा पूर्वाधार निर्माणमा विभिन्न खाले समस्याहरु देखिएका छन् । खासगरी विकास निर्माणका कार्यहरु तोकिएको समयमै सम्पन्न हुन नसक्ने, सम्पन्न भएका संरचनाहरु पनि गुणस्तरहिन हुनेजस्ता विविध समस्याहरु देखिँदै आइरहेका छन् । यसैबीच यस्ता समस्याहरु देखा पर्नुको कारण र भावी दिनमा यस्ता समस्याको अन्त्यका लागि तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा सञ्चालित सञ्चार केन्द्र नेपालको हलमा आज “पूर्वाधार निर्माणका चुनौती र अब लिनुपर्ने बाटो” विषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्वमन्त्री एवं सांसद महेश बस्नेतले निर्माण व्यवसायीहरुको गल्तीका कारण सिंगो सरकारले नै गाली खानुपरेको बताउँदै जिम्मेवारी बोध गरी काम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो–‘निर्माण व्यवसायीहरु सरकारका प्रतिनिधि हुन् त्यसैले जिम्मेवारी लिएर काम गर्नुपर्छ ।’
भौतिक पूर्वाधार निर्माण जनताको माग र सरकारको प्राथमिकता भएको बताउँदै निर्माणका क्षेत्रमा देखिएका विविध समस्याहरुलाई न्यूनीकरण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । निर्माण क्षेत्रमा काम गर्दा सार्वजनिक खरिद ऐनमा, दररेटमा र तोकिएकै समयमा सम्पन्न नहुनेलगायतका समस्याहरु रहेकाले यस्ता समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा उहाँको जोड थियो ।

भौतिक पूर्वाधार मन्त्रालयमा बैधानिक अनियमितता भएको भन्दै निर्माण क्षेत्रमा अझैपनि पिपि सिस्टम रहेकोले यसले निर्माण क्षेत्रकै नकारात्मक विम्व बनाएकोले तत्काल रोक्नुपर्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘पिपि सिस्टम अन्त्य गर्नुपर्छ बरु मापदण्ड बनाएर योगदानको आधारमा कर्मचारीहरुलाई भत्ता दिऔं ।’

त्यसैगरी कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने माननीय सदस्य डा. केपी ओलीले मुलुकमा ठुला ठुला राजनीतिक परिवर्तनहरु भएपनि हाम्रो सोँचमा परिवर्तन हुन नसक्दा पूर्वाधार निर्माणका क्रियाकलापहरु प्रभावकारी हुन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो –‘विभिन्न राजनीतिक परिवर्तनहरु भए तर हाम्रो सोँच विचारमा परिवर्तन हुन नसक्नु नै मूल समस्या हो ।’ भन्दै उहाँले हामी सबैमा मुलुक बनाउनुपर्छ भन्ने भावनाको विकास भएमात्र मुलुकको विकास हुन्छ भन्नुभयो ।

मुलुकमा हाल २१ वटा राष्ट्रिय गौरवका आयोजनाहरु निर्माणधिन अवस्थामा रहेकाले यस्ता आयोजनाहरु चाँडै सम्पन्न भएमात्र मुलुकले भौतिक पूर्वाधार निर्माणको लक्ष्य प्राप्त गर्न सक्ने बताउनुभयो । राष्ट्रिय गौरवका आयोजना निर्माणका क्रममा विविध समस्याहरु रहेपनि लक्ष्य प्राप्तीका लागि आयोजनाहरु अगाडि बढाउनुपर्नेमा उहाँको जोड थियो । यसै प्रसङ्गमा उहाँले हाल निर्माणकै क्रममा रहेको सिक्टा सिंचाई आयोजना सम्पन्न भएपछि १ लाख ४२ हजार हेक्टर जमिनमा सँधैभरी सिंचाई गर्न सकिन्छ । यसैगरी सबै राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न भएमा मुलुकको लक्ष्य समेत पूरा हुने भएपनि तोकिएकै समयमा काम सम्पन्न नहुने समस्या रहेको तर्क गर्नुभयो ।

यसबीच, माननीय सदस्य ओलीले भौतिक पूर्वाधार निर्माणका देखिएका समस्याहरु समाधान गर्नका लागि कयौं प्रभावकारी योजनाहरु ल्याएकाले अब समस्या समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समय सरकारले करारमा कार्यसम्पादन सम्झौतासम्बन्धी योजना ल्याएकोले समयमै अनुगमन र मूल्यांकन हुने हुँदा काममा हुने ढिलासुस्तीको अन्त्य हुने बताउनुभयो । त्यसैगरी राष्ट्रिय गौरवका आयोजनाहरुलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै निर्माण कार्यको प्रभावकारितासम्बन्धी निरीक्षण र मूल्यांकन हुने हुँदा यसले आयोजनामा हुने बेथितिहरुको अन्त्य हुने दाबी गर्नुभयो ।

त्यसैगरी नेपालका सरकारका पूर्वसचिव सुरेश प्रधानले मुलुक संघीयतामा गई तीन तहको सरकार बनेको कारण कसले के काम गर्ने भन्ने अन्योलता रहेको कारण भौतिक पूर्वाधार निर्माणमा असर परेको बताउनुभयो । पूर्वसचिव प्रधानले आयोजना सम्पन्न गर्नका लागि समय निर्धारण नहुनु र समयमै बजेट खर्च नगर्नु लगायतका समस्याहरु देखिएकाले यस्ता खाले समस्याहरु समाधान गर्नका लागि आवश्यकता अनुसार प्रसस्त गृहकार्य गर्नुपर्ने बताउनुभयो । त्यसैगरी उहाँले निर्माण क्षेत्रमा देखिएका समस्याहरु समाधानका लागि सबै आयोजना प्रमुखहरुलाई तालिम दिने र सेडुयल अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सञ्चार केन्द्र नेपालका अध्यक्ष तथा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द प्रसाद चौलागाईंको सभापतित्वमा भएको कार्यक्रममा निर्माण व्यवसायी महासंघका महासचिव टंक चौलागाईं, सोसाइटी अफ कन्सल्टिङ्ग आर्चिटेक्चर एण्ड इन्जिनियरिङ्ग फर्म नेपालका सचिव इ. कृष्ण प्रसाद सापकोटालगायतले निर्माण व्यवसायीहरुले भोग्नुपरेको समस्याहरुका विषयमा प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *