गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरे बचाउ

Sharing is caring!

फागुन ११, २०७६ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नु नपर्ने भन्दै बचाउ गर्नुभएको छ।

एक सचिवालय सदस्यले भने– ‘पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानविन गर्नुपर्छ।’

तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्नु नपर्ने भन्दै अडान लिनुभएको थियो। पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानविन गर्नुपर्ने भनाइमा जोड दिएपछि उहाँले बास्कोटाको बचाउ गर्दै भन्नुभयो– बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने भएकाले पार्टीले छु्ट्टै छानविन गर्नुपर्दैन।’ यस्तै सचिवालय बैठकले एमसीसी सम्झौता परिमार्जन गरेर मात्र संसद्मा अनुमोदन गर्ने सहमति गरेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले गठन गरेको कार्यदलले दिएको सुझावबमोजिम परिमार्जन गरेर मात्र अनुमोदन गर्ने सहमति गरेको हो।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सचिवालय बैठकमा कार्यदलका संयोजकसमेत रहेका पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशको राष्ट्रियता र स्वाधिनताको विरुद्धमा केही बुँदा रहेकाले परिमार्जन गर्नुपर्ने जानकारी गराउनुभयो।

नेता खनालले नेपाल समाचारत्रपसँग भन्नुभयो–‘एमसीसी जस्ताको तस्तै पारित गर्न सकिँदैन, कार्यदलले निकै गम्भीरतापूर्वक अध्ययन गरेर परिमार्जन गर्ने विषय बुँदागत रुपमा उल्लेख गरेर बुझाएको छ।’

यसअघि संसद्मा पेस भएको एमसीसी जस्ताको तस्तै पास गर्ने पक्षमा रहेका प्रधानमन्त्री ओली पनि केही विवादित बुँदा परिमार्जन गर्न सहमत हुनुभएको सचिवालयका एक सदस्यले बताए।

शुक्रबार खनाल नेतृत्वको कार्यदलले अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन बुझाएसँगै पार्टीले यसबारेमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो।

संयोजक खनालको त्यसमा रहेका गम्भीर र आपत्तिजनक कुराहरूको बारेमा जानकारी गराएपछि नेताहरू एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने विषयमा सहमत भएका छन्।

नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्ययन कार्यदलको सुझाव सुनिसकेपछि जस्ताको तस्तै पास गर्नुहुँदैन भन्ने निष्कर्षमा पार्टी पुगेको बताउनुभयो। उहाँका अनुसार सचिवालयका सबै सदस्यहरूले कार्यदलको प्रतिवेदन अध्ययन गरेपछि ठोस निर्णय हुनेछ।

सचिवालय बैठकपछि अध्यक्ष दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपतिनिवास जानुभएको थियो। यो समाचार आजको  नेपाल  नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *