क्विन्टल भनिएको अवैध सुन ६१ किलो

Sharing is caring!

साउन ३०, २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैध रूपमा भित्रिएको ठूलो परिमाणको सुनलाई नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले वास्तविक तौल तथा गुणस्तर परीक्षणको प्रक्रिया अघि बढाएको छ।

महाशाखाले जिम्मा पाएको ८ पोका सुनसहितको ब्रेक सुको तौल १ सय ५५ किलो ४ सय ६८ ग्राम रहेको सोमबार प्रेस सम्मेलनमा जानकारी दिइयो। परीक्षणपछिको वास्तविक परिमाण र गुणस्तर भने एक साताभित्रमा आउने भएको छ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको दुईपाङ्ग्रे सवारीको पार्टस् (ब्रेक सु) भित्र लुकाएर ल्याइएको सुन त्रिभुवन विमानस्थल बाहिर सिनामंगलबाट साउन २ गते बरामद गरिएको थियो। टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यका अनुसार उक्त सुन भनिएको धातु सिलबन्दी प्रतिपोकोमा १९ किलो ५ सय ४१ ग्राम रहेको छ। अझ सिलबन्दी पोकामा ब्रेक सु,र कार्टुनबाहेक प्रतिपोकामा करिब ७ किलो ६ सय ८० ग्राम सुन देखिएको छ।

उक्त ८ पोकाको कुल ६० किलो ७ सय ८९ ग्राम बराबरको सुन भएको छ। यसमा कालोपदार्थ लगायतका वस्तुसमेत भएकाले वास्तविक सुन कति भनेर निश्चित गर्न प्रक्रियामा लैजाने उनले जनाए। ‘यी सबैलाई छुट्ट्याइसकेपछि सुन भनिएको वस्तुलाई गलाउने प्रक्रियामा लगिनेछ,’ निर्देशक आचार्य भन्छन्, ‘गलाउनुभन्दा अगाडि यसलाई केमिकलमा धुनुपर्ने वा पोल्नुपर्ने पनि हुनसक्छ। त्यसपछि साँचोमा राखिन्छ। यसपछि यसको नमुना परीक्षण गरिन्छ।

. भन्सार छलीको सुन भनिएको पोकाहरूको तौल १ सय ५५ किलो ४६८ ग्राम
. ८ पोकामा ६० किलो ७८९ ग्राम सुन

. परीक्षणपछिको अन्तिम परिमाण सात दिनमा

यसपछि अर्को ‘आर्से’ परीक्षण गर्न तीन दिन लाग्छ। यसपछि सुन भनेको वस्तु अर्थात् रियल सुन भने गालीसकेपछि जर्दी, केमिकल आगोले उडाउँछ। यसपछि मात्रै वास्तविक तौल थाहा पाइन्छ।’ यसको अन्तिम तथ्यांक प्राप्त हुन एक साता लाग्ने उनले बताए। राजस्व अनुसन्धान विभागले जफत गरिएका सिलबन्दी आठ पोका अनुसन्धान गर्ने सिलसिलामा सीआईबीलाई जिम्मा दिएको थियो। राजस्व र सीआईबीबाट आइतबार नै पत्र आएको थियो। सबै प्रतिनिधिलाई बोलाएर सोमबार सिल फोरेर सुन भनिएको वस्तु छुट्ट्याउने काम गरिएको हो।

तस्करी सुनको परीक्षण कसरी गरिँदैछ ?

सुन परीक्षणका लागि पारदर्शी प्रक्रिया अपनाएको महाशाखाका निर्देशक आचार्यको दाबी छ। यस्तो सुन परीक्षण गर्नका लागि महाशाखाभित्र आन्तरिक कमिटी हुन्छ। त्यसमा टक्सारमा तीन जना साँचो बुझ्ने हुन्छन्। ती तीन जनाको साँचोबिना ढुकुटी खोल्न सकिँदैन। यसको अतिरिक्त नेपाल राष्ट्र बैंकबाट आन्तरिक लेखापरीक्षक, वित्त व्यवस्थापन विभागका प्रतिनिधि र सदस्यको रूपमा मुद्रण व्यवस्थापनका प्रतिनिधि हुन्छन्।

यससँगै राजस्व अनुसन्धान विभागबाट दुई र राष्ट्रिय अनुसन्धानबाट दुई प्रतिनिधि छन्। यस्तै, महाशाखाले तीन तहमा सुरक्षाको प्रबन्ध गरेको छ। आन्तरिक आर्मी, सीबीआईका प्रहरी र अन्य प्रहरी तथा सुरक्षाकर्मीबाट सुरक्षित गरेर सुन परीक्षणको नापतौलको काम अत्यन्तै पारदर्शीबाट काम भइरहेको महाशाखा निर्देशक आचार्य सुनाउँछन्।

सुन परीक्षणका अन्तर्राष्ट्रिय मापदण्ड

सुन भनिएको वस्तु टक्सार महाशाखासम्म ल्याइसकेपछि केमा मिसाएर ल्याएको हो, त्यसलाई छुट्ट्याइन्छ। यतिबेला महाशाखाले ब्रेक सु र कागजको बाक्सा (कार्टुन) छुट्ट्याएको छ। सुनबाहेकका वस्तु राजस्व अनुसन्धानलाई नै फिर्ता दिइन्छ। सुन भनिएको धातुलाई गलाउने प्रक्रियामा लगिन्छ। यसको प्राविधिक परीक्षणलाई आर्से परीक्षण भनिन्छ। यो परीक्षण गरेपछि वास्तविक रूपमा सुन हो वा होइन, कुन गुणस्तरको सुन कति परिमाणको छ भनेर अन्तिम निचोड निकालिन्छ।

रेडी ट्रेडर्सका नाममा हङकङबाट आयात भएको सुन भनिएको वस्तु, ब्रेक सुभित्र एक भागमा मात्रै राखिएको छ। यसर्थ ब्रेक सुबाहिर प्लास्टिकको कभर छ। सुन भनिएको वस्तुभित्र पनि दुईवटा टाँसिएको वस्तु छ। एक साइडमा घोट्दा पहेँलो देखिन्छ। अर्को साइडमा रहेको धातु भने छुट्ट्याउन नसकेको निर्देशक आचार्यले जनाए। घोट्दा पहेंलो देखिएको भागलाई भने टक्सारले गालेर सुन गुणस्तर छुट्ट्याउने प्रक्रियामा अगाडि बढाउँछ।

निर्देशक आचार्यका अनुसार सोमबार दिनभर बाकस खोलेर ब्रेक सु र सुन धातुलाई छुट्ट्याइसक्ने काम गर्नेछौं। यसपछि मंगलबार उक्त धातुमा भएको कालो पदार्थलाई हटाइने छ। यसपछि गाल्ने प्रक्रिया एक दिनमा पूरा हुन्छ।

अन्तिम परिणाम आउनलाई करिब एक साता लाग्ने उनले जनाए। आर्से परीक्षणपछि मात्रै राष्ट्र बैंकले सुन हो वा होइन वास्तवमा कति छ भनेर यकिन गर्ने अवस्था आउनेछ।

तस्करीका सुन राष्ट्र बैंकले कसरी किन्छ र?

तस्करी सुन बरामद भएपछि त्यो सरकारको स्वामित्वको हो। यसलाई राख्ने अधिकार राष्ट्र बैंकलाई मात्रै हुन्छ। राष्ट्र बैंकले परीक्षण गरेर वास्तविक नापतौल निकाल्छ। सरकारको सम्बन्धित निकायले टक्सार महाशाखालाई उक्त सुन किन्ने प्रक्रियाका लागि पत्र पठाउँछ। यसपछि राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बजारमा चलेको मूल्यमा पाँच प्रतिशत थपेर उक्त सुन किन्ने गरिन्छ। थप पाँच प्रतिशत सुन किन्दा राष्ट्र बैंकलाई भन्सार तिर्ने रकम लाग्दैन।

टक्सारमा ५ वर्षमा जफतको पौने ४ सय किलो सुन

अहिले जफत भएको सुन विगत तीन वर्षमा आएको ठूलो परिणामको भएको टक्सार महाशाखाले जनाएको छ। निर्देशक आचार्यका अनुसार विगत पाँच वर्षको तथ्यांकमा करिब ३ सय ७८ किलो सुन जफत भएर आएको देखिन्छ।

चोरीका, भन्सार छलीलगायतका अन्य गैरकानुनी प्रक्रियाबाट आएका सुनलाई सरकारले जफत गर्छ। यी सबै टक्सारमा आइपुग्छ। यी सबैमा विशुद्ध सुनै आउँछ भन्ने हुँदैन। लोटस सुन पनि थुप्रै आएको देखिन्छ। सुनको गुणस्तर फरकफरक हुन्छन्। विशुद्ध सुनमा ९९.९९ प्रतिशत शुद्ध हुन्छ। यसबाट असर्फी र स्मारिका सिक्कालगायत बनाएर टक्सारले बिक्री गर्छ। अन्य धातुको अंश मिसिएको छ भने लोटस गुणस्तरमा वर्गीकरण गरिन्छ। यो खबर अन्न्पूर्ण पोस्टबाट लिएका हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *