उखुको नगद अनुदान बैंकबाट

Sharing is caring!

असोज २९, २०७५ । सरकारले उखु किसानलाई प्रोत्साहन बापतको नगद अनुदान बैंक खातामै जम्मा गरिदिने तयारी गरेको छ। अर्थ मन्त्रालयले तयार पारेको ‘उखु किसानलाई अनुदान दिनेसम्बन्धी कार्यविधि’ अनुसार सम्बन्धित किसानको खातामै अनुदान जम्मा गर्न लागिएको हो।

कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार जेठ १५ यता बिक्री भएको चिनीको मूल्यका आधारमा किसानको खातामा यस्तो प्रोत्साहन नगद जम्मा हुनेछ। यस अघिसम्म चिनी बिक्री हुँदा सरकारले असुल गर्ने भ्याटबाट ९० प्रतिशत रकम किसानलाई फिर्ता गर्ने व्यवस्था थियो। चालु आर्थिक वर्षको बजेटमार्फत यो व्यवस्था खारेज गरिएकाले उक्त बराबरको रकम अनुदानबापत खातामै उपलब्ध गराउने व्यवस्था अर्थ मन्त्रालयले गरेको हो। सरकारले किसानलाई प्रतिकिलो ६५ रुपैयाँ २८ पैसा नगद अनुदान उपलब्ध गराउने तयारी गरेको हो।

नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार हालसम्म उद्योगीले किसानलाई तिर्नुपर्ने वक्यौता करिब एक अर्ब २५ करोड बाँकी छ। यस्तै सरकारले अनुदान नगद दिने भनिएको एक अर्ब २८ करोड किसानलाई भुक्तानी गर्न बाँकी छ। सार्वजनिक लेखा समितिले सरकार र उद्योगीले गर्नुपर्ने भुक्तानी यथाशिघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता तेजप्रसाद सुवेदीले किसानलाई नगद अनुदान दिन अहिले करिब ९२ करोड खर्च लाग्ने जानकारी दिए। उनका अनुसार चिनी उद्योगीले भ्याट फिर्ताबापतको रकम किसानलाई उपलब्ध नगराइ दुरुपयोग गरेको फेला परेपछि सरकारले किसानको खातामै रकम जम्मा गरिदिन लागेको हो।

यसका लागि अहिलेसम्म १२ चिनी उद्योगलाई छनोट गरिएको छ। बाराको रिलायन्स सुगर, रौतहटको श्रीराम सुगर मिल, महोत्तरीको एभरेस्ट सुगर, सिरहाको हिमालय सुगर, सुनसरीको इस्टर्न सुगर, नवलपरासीको इन्दिरा सुगर, नवलपरासीको लुम्बिनी सुगर, सोही स्थानको वाग्मती खाँडसारी सुगर, सर्लाहीको इन्दुशंकर र अन्नपूर्ण, कञ्चनपुरको महाकाली र भागेश्वरी सुगर मिललाई अनुदान उपलब्ध गराउन छनोट गरिएको छ।यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिएका हौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *