इस्लाम अनुयायीले बक्र इदमा सद्भाव साटे

Sharing is caring!

भदौ ६, २०७५ । काठमाडौँ उपत्यकामा बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीले दोस्रो ठूलो पर्व इद—उल—अजहा (बकरइद) का अवसरमा घण्टाघरस्थित नेपाली जामे मस्जिदमा आज भेला भई सद्भाव साटासाट गरेका छन् ।

प्रत्येक वर्ष अरवियन पात्रोको १२ औँ महिनाको १० गते पर्ने उक्त पर्वमा आफू भन्दा ज्येष्ठ मानिससँग आर्शीवाद लिने तथा मीठो खानेकुरा खाएर खुशियाली गर्ने गरिन्छ । अल्हा (इश्वर)ले आफ्नो भक्तजन इब्राइमलाई परीक्षा लिने क्रममा प्यारो वस्तुको बलि मागेकोमा इब्राइमले छोराको बलि दिन खोजेपछि त्यहाँ दैवीशक्तिले चौपाया उत्पन्न भएको विश्वास धर्मावलम्बीले गर्दछन् ।

खसी, बोकालगायत चौपायाको बलि गरी गरीब, इष्टमित्र र आफूलाई तीन भाग लगाइन्छ । समग्र आम्दानीको साढे दुई प्रतिशत दान गर्ने परम्परा छ । जामे मस्जिद व्यवस्थापन समितिका अध्यक्ष अब्दुल समीमका अनुसार एक इश्वरवादको दार्शनिक मान्यता राख्ने धर्मावलम्बीले पहिलो महत्वपूर्ण पर्व इदुलफित्र मनाउने गदर्छन् । त्यस पछिको ठूलो पर्व अहिले मनाउने गर्दछन् ।

करीब एक महिना अगाडि रमजानको व्रत पूरा गरेपछि यो पर्व पर्छ । इस्लाम धर्मको आधार स्तम्भका रुपमा कल्मा, नमाज, रोजा, जकात र हजलाई लिने गरिन्छ । अध्यक्ष समीमका अनुसार नेपालमा मल्लकालीन समयदेखि नै बसोवास गर्दै आएका इस्लाम धर्मावलम्बीको जनसङ्ख्या करीब ५ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *