काठमाडौं । देशभर हाल पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण मौसम बदली र वर्षाको सम्भावना देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने सुदूरपश्चिमको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
उक्त प्रणालीको प्रभावका कारण कोशी, बागमती र गण्डकी प्रदेशका साथै देशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा तथा मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि मौसम आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने तथा तराई क्षेत्रमा आंशिक बदली रहने जनाइएको छ।
महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा देखिएको यस परिवर्तनले दैनिक जनजीवन, कृषि र यातायात क्षेत्रमा आंशिक प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।