संसदको गतिरोध हट्छ, विश्वासको मत पाउँछु : प्रधानमन्त्री

Share this news:

जेठ ५, २०८१ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक गतिरोध निकासको दिशातर्फ अगाडि बढेको बताएका छन् ।

नेकपा(माओवादी केन्द)को पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले छलफल र संवादबाट विद्यमान अवरोधले निकास पाउने विश्वास व्यक्त गरे ।

उनले भने, ‘प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ, भोलिसम्म सदनको अवरोध हट्ने छ ।’

उनले यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै संसद्बाट विश्वास प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताए ।

उनले सदनमा प्रस्तुत भएको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नेगरी बजेट निर्माण भइरहेको भन्दै आगामी बजेटमार्फत जनताका आकांक्षा सम्बोधन गरिने बताए ।

उनले भने, ‘सरकारको ध्यान यस वर्षको नीति तथा कार्यक्रमलाई पारित गर्ने र संविधानले व्यवस्था गरेअनुसारको बजेट बनाउनेमा छ । बजेटमार्फत नीति तथा कार्यक्रमलाई ठीक तवरले सम्बोधन गर्नुपर्नेछ । नीति तथा कार्यक्रमका मूलभूत मान्यतालाई बजेटले बोक्नैपर्छ ।’

कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै नेपालको लोकतन्त्र सुदृढीकरण गर्नका लागि पनि कम्युनिष्ट विचारहरू एकीकृत हुन आवश्यक रहेको उनको भनाई छ ।

उनले भने, ‘समाजवादी क्रान्तिलाई अगाडि बढाउन कम्युनिष्ट विचार एकठाउँमा आउनुपर्छ, त्यसका लागि सकारात्मक वातावरण बनेको छ । कम्युनिष्ट आन्दोलनका दस्तावेजलाई एकीकृत गर्नुपर्ने अवस्था आएको छ ।

लोकतन्त्र सुदृढीकरण र जनताको आकांक्षा पूरा गर्नका लागि सबै एकीकृत हुनुपर्छ ।’

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *