संघीय गठबन्धनको लाभ उठाउँदै जनमत पार्टी मधेश प्रदेशको नेतृत्वमा पुग्दै

Share this news:

जेठ २४, २०८१ । जनमत पार्टीका सतिशकुमार सिंह मधेश प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । जनमत पार्टीले सिंहलाई मुख्यमन्त्री पदमा अघि सार्ने निर्णय गरिसकेको छ ।

जनमत पार्टी कुनैबेला विखण्डनवादी गतिविधिमा सक्रिय देखिएका सीके राउत नेतृत्वको पार्टी हो । सप्तरीबाट उपेन्द्र यादवलाई ठूलो मतान्तरले हराउँदै प्रतिनिधि सभा सदस्य चुनिएका राउतले मधेश प्रदेशको राजनीतिमा नेतृत्व गर्ने अवसर पाएका छन् ।

संघीय सरकारमा गठबन्धनमा सदस्य रहेको जनमतले यसकै राजनीतिक लाभ स्वरुप मधेश प्रदेशको नेतृत्व गर्ने अवसर पाईरहेको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री रहेका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी पदमुक्त हुने निश्चित छ ।

त्यसपछि बन्ने नयाँ गठबन्धनमा सतिश सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय भएको जनमतले जनाएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष रहेका सतिश सिंह गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए ।

त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिएका थिए ।

मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सत्तारूढ दलबीच सहमति भइसकेको भने यसमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीले सहयोग गर्ने भएका छन् ।

मधेश प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । जनमतको बैठकमा यादवभन्दा पनि राजपूत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेपछि दलका नेता छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ मुख्यमन्त्रीका लागि भोलि शुक्रबार बिहान १० बजेसम्म दाबी पेश गर्न आह्वान गरेकी छन् ।

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *